चितवन समाचार डटकम ,
२९ जेठ । भरतपुरमा कोरोना संक्रमित देखिएका चिकित्सकले जाँच गरेका एकसय जना सर्वसाधारण विरामी ट्रेसिङमा परेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमित देखिएका ति चिकित्सकले ओपीडीमा जाँचेका सबै विरामीसंग सम्पर्क गरी उनीहरुलाई उच्च सतर्कताका साथ बस्न भनिएको छ । कार्यालय प्रमुख दिपक तिवारीले चिकित्सकले विरामी जाँच्दा १५ मिनेट भन्दा धेरै समय एक मिटरसम्मको दुरीमा रहेकाहरुलाई पहिचान गरी सूचित गरिएको जानकारी दिनु भयो ।
“उहाँहरु सबैलाई १४ दिनसम्म नियमित सम्पर्कमा रही स्वास्थ्य अवस्था बारे जानकारी दिन भनेका छौ । त्यसपछि मात्रै स्वाब संकलन र परीक्षणको प्रकृया अगाडि वढ्नेछ ” तिवारीले चितवन समाचार डटकमसंग भन्नु भयो ।
तत्कालै पीसीआर परीक्षण गर्दा आउने नतिजा परिपक्क नहुने भएकाले सबैलाई न्युनतम १४ दिनको अवधी पूरा गर्न भनिएको तिवारीले बताउनु भयो । यस बाहेक अन्य संक्रमितहरुसंग नजिक भएका करिब ५० जनाको पहिचान गरी उनीहरुलाई पनि उच्च सतर्कताका साथ राखिएको प्रमुख तिवारीले जानकारी दिनु भयो ।


