पाँच जिल्लाको स्वाब परीक्षण गर्दै भरतपुर कोभिड प्रयोगशाला

चितवन २६ जेठ । भरतपुरमा स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशालाले पाँच जिल्लाको स्वाब परीक्षण गर्दै आएको छ ।
मकवानपुरदेखि कपिलबस्तुसम्मका विरामीको स्वाब परीक्षणको लागि भरतपुर कोभिड प्रयोगशाला आउने गरेका छन् ।

प्रदेश राजधानी हेटौडामा कोभिड प्रयोगशाला राखेपछि मेडिकल सिटीको रुपमा विकास हुदै गएको चितवनको लागि ल्याबको माग गरिएको थियो । महानगरपालिका प्रमुख रेनु दाहालको गत चैत २४ गतेबाट सञ्चालनमा आएको प्रयोगशालामा अहिले दैनिक एकसय भन्दा धेरैको स्वाब परीक्षण हुदै आएको छ ।

भरतपुर अस्पताल मातहतमा सञ्चालन भएको प्रयोगशालाले चितवनसहित पाँच जिल्लाका बिरामीको स्वाब परीक्षण गर्दै आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनु भयो । ‘मकवानपुर, कपिलवस्तु, धादिङ, नवलपरासी, चितवनका विरामीको स्वाब परीक्षण हुदै आएको छ’ पौडेलले भन्नु भयो ‘काठमाण्ठौ टेकुपछि धेरै स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको यो प्रयोगशालामा अहिले परीक्षणको चाप बृद्धि भएको छ ।’

प्रयोगशालामा अहिलेसम्म दुई हजार सातसय ५७ जनाको स्वाब परीक्षण गरिएको सूचना अधिकारीले जानकारी दिनु भयो । शुरुका दिनमा निकै कम परीक्षण भए पनि पछिल्लो समयमा भने दैनिक एक सयभन्दा बढीको नमूना परीक्षण गर्न थालिएको छ । यो विवरण केही दिन अगाडिको हो ।

भरतपुर अस्पताल र कोरोना अस्थायी अस्पतालबाट मात्रै एक हजार ५०३ वटा नमुना परीक्षण भएका छन् । भरतपुर अस्पतालको ५८६ र कोरोना अस्थायी अस्पतालको ९१८ वटा नमूना परीक्षण भएको अस्पतालले जनाएको छ । बाँकी कपिलवस्तु, मकवानपुर, धादिङबाट संकलन गरेर ल्याइएका हुन् ।

चितवनमा क्वारेन्टाइन निर्माण वृद्धि र भारतबाट आउनेहरुको सख्या दैनिक बढेपछि परीक्षणको चाप प्रयोगशालामा भएको अस्पतालले जनाएको छ । योसंगै छिमेकी जिल्लाबाट पनि परीक्षणको लागि भरतपुरमा ल्याउने भएको कारण अहिले यो प्रयोगशालाका स्वास्थ्यकर्मी राति अबेरसम्म काम गरिराखेको भरतपुर अस्पतालका मेसु डाक्टर श्रीराम तिवारीले जानकारी दिनु भयो ।

अस्पतालका अनुसार प्रयोगशालामा गरिएको परीक्षणमा अहिलेसम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामा चितवनका ६ जना, नवलपरासीका ७ जना र कपिलवस्तुका ४ जना छन् । भरतपुर अस्पतालमा उपचारका लागि राखिएका राप्ती नगरपालिकाका दुई र मकवानपुरमा नै कोरोना संक्रमण पुष्टि भएर रिफर भएकी एक गर्भवती महिलासहित ३ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

संक्रमण पुष्टि भएकामध्ये अहिले ५ जनाको भरतपुर कोरोना अस्पतालमा र २ जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । कोरोना अस्पतालमा उपचाररत चार जना नवलपुरका हुन् । हाल अस्पतालमा उपचाररत संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी  पौडेलले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट