अमिर रामदाम
चितवन, २४ जेठ ।
रुकुम घटनाको विरोधमा संयुक्त दलित संघर्ष समिति चितवनकाे आह्वानमा जिल्लामा जारी आन्दोलन प्रति दल र नागरिक अगुवाहरुले पनि ऐक्यवद्धता जनाएका छन् । समितिले शनिबार भरतपुर गरेको बिराेध कार्यक्रममा दलका जिल्ला नेता, नागरिक अगुवाले सहभागीता जनाए । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी चितवनका नेता तेजेन्द्र खड्का, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य विष्णुहरी तिमिल्सेना, नेपाल बार एशोसियशन चितवनका पूर्व अध्यक्ष गोपिलाल देवकोटा, नेपाल नागरिक समाज केन्द्रीय सदस्य निलकण्ठ ढुङ्गाना, मानव अधिकार सञ्जाल चितवनका अध्यक्ष राजेन्द्र पौडेलले विरोध कार्यक्रममा प्रतिनिधिमुलक ऐक्यवद्धता जनाए । भरतपुरकाे चाैबिसकाेठिमा
भएको विरोध कार्यक्रममा अध्यक्षता समेत गरेका नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजयकुमार विश्वकर्माले रुकुम पश्चिम सोतीमा भएको घटना सिङ्गो दलित समुदाय माथीको आक्रमण भएको बताए । उनले विभेद विरुद्धको यो आन्दोलनमा सबै नागरिक समाजहरुलाई हातेमालो गर्न आग्रह समेत गरे । जब सम्म घटनाका पीडितहरुले न्याय पाउँदैनन् तब सम्म आन्दोलनका कार्यक्रमहरु गरि राख्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रुकुमको घटना कुनै समान्य घटना नरहेको र यो घटना मानवता विरोधी रहेको जीकिर गरे । डाक्टरद्धारा घटनामा हत्या नै भएको प्रमाणित गरिसकेको अवस्थामा सरकारले दोषीलाई कारवाही गर्न ढिलासुस्ती गरिरहेको उनले आरोप लगाए । यदि घटनालाई अझै पनि लुकाउने छलकपट गर्ने जस्तो प्रयत्न गरियो भने पार्टी भन्दा माथी उठेर संघर्षलाई शसक्त रुपमा अघि लैजान उनले अनुरोध गरे ।
नेपाल कम्युनिष्ट पार्टी चितवनका नेता तेजेन्द्र खड्काले हत्यामा संलग्न जो कोही उच्च पदस्त रहेपनि हदैसम्मको कडाभन्दा कडा कारवाही गर्न माग गरे । लोकतन्त्र, गणतन्त्र, समावेशिता सहितको संघियता आयो तर अझैपनि दलित समुदायहरु विभेदमा नै रहिरहनुपर्ने यो कहाँको न्याय हो उनले प्रश्न गरे । राजनैतिक परिवर्तन गर्यौ, सामाजिक परिवर्तन गर्न सकेनौं त्यो गर्न नसक्नु नै राजनैतिक नेताहरुको कमजोरी रहेको उनले टिप्पणी गरे । यो घटनामा नेकपासंग आवद्ध व्यक्ति नै भएपनि त्यस्तो व्यक्तिको कुनै पद र अहोदाँको पर्वाहा नगरि हदैसम्मको कानुनी कारवाही गर्न उनले माग गरे । सरकारले कुनै पनि हालतमा जनतालाई न्याय दिनुपर्ने उनले बताए ।
सोही क्रममा जनता समाजवादी पार्टी केन्द्रीय सदस्य विष्णुहरी तिमिल्सेनाले दश वर्षे जनयुद्धमा सबैभन्दा दलित समुदायले आहुती दिए तर नेताहरु आफ्नो पद मोह भएका कारण दलित समुदायको बलिदानी व्यर्थै रहेको बताए । यो मानव नरसंहार विरुद्धको आन्दोलन दलित समुदायको मात्रै नभइ सिङ्गो नेपालीको आन्दोलन रहेको उनले बताए ।
नेपाल बार ऐशोसियशन चितवनका पूर्व अध्यक्ष गोपिलाल देवकोटाले कानुनलाई जस्ताको त्यस्तै परिपालना गर्ने हो भने नेपालमा कुनै पनि अपराधीहरु उम्कन नपाउने बताए । तर नेपालमा त्यहि कानुनका क्षेत्रहरुलाई समातेर हजारौं अपराधीहरु उम्केकोमा उनले दुखेसो व्यक्त गरे । अहिले रुकुम घटना प्रति कानुनको दृष्टिकोणबाट आफूले गम्भिर रुपमा हेरिरहेको उनले बताए । अहिले सम्म बनेको संविधानले जातीय विभेदलाई निरुत्साहित पारेको छ तर व्यवहार त्यस्तो नदेखिएको उनले टिप्पणी गरे । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ मार्फत सजायको माग गरिदैँ आएको छ र त्यो गलत रहेको उनले तर्क गरे । यो घटनामा जातीय छुवाछुतको ऐन आकर्षण गर्न हुदैँन, त्यस्तो नरसंहार भएको छ, त्यो घटनाका लागी हत्या विरुद्धको संगठित अपराधलाई जोडेर नेपाल सरकारले मुद्दा चलाउन आवश्यक रहेको उनले तर्क व्यक्त गरे । रुकुम घटनाको विषयमा पीडितहरुको तर्फबाट आफूले बहस पैरवी गर्न पाएको खण्डमा निःशुल्क रुपमा बहस गर्न आफू तयार रहेको उनले उद्घोष गरे । उनले अब उप्रान्त आवाज उठाउँदा कानुनको कुरा समातेर क्रुरतापूर्वक हत्या र संगठित अपराधलाई जोडेर कारवाही माग गर्न सबैसंग अनुरोध गरे ।
नेपाल नागरिक समाज केन्द्रीय सदस्य निलकण्ठ ढुङ्गानाले नरसंहारको यो घटनालाई साम्य पार्न रुकुम पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने माननीय ज्यूहरुले कुरा तोडमोड गरिरहेको आरोप लगाए । घटनालाई उत्कर्षमा ल्याउन र दबाउनका लागी राजनीतिकरण भइरहको प्रति उनले आक्रोश व्यक्त गरे । पार्टी ठूलो कुरा नभई सबैभन्दा ठूलो मानव अधिकारको कुरा रहेको र त्यो घटनामा मानव अधिकार हनन् भएकोले सरकारले सबै मानव जगतलाई सुरक्षाको प्रत्याभूति दिलाउन उनले आग्रह गरे । धर्मको नाममा गरिएको जातीय विभेद निर्मूल नपारेसम्म छुवाछुत अन्त्य नहुने उनले बताए । उनले सत्यमाथी बादल लागेको आरोप समेत लगाए ।
मानव अधिकार सञ्जाल चितवनका अध्यक्ष राजेन्द्र पौडेलले छुवाछुत मुक्त राष्ट्र भयो तर व्यवहारमा अन्त्य हुन नसकेको बताए । मानव भएर जन्म लिइसकेपछि मानवताको व्यवहार देखाउन सकेनौं भने मानव र पशुमा के फरक रह्यो उनले प्रश्न गरे । यो घटनामा राज्य नै मौन भएको देख्दा अब हामीले कस्को विश्वास गर्ने उनले बताए । यो घटना सिङ्गो मानवता विरुद्धको अपराध रहेको र सरकारले लकडाउनको बाहनामा ढाकछोप गरिरहेको उनले आरोप लगाए ।
त्यस्तै नेपाल दलित संघ चितवनकी सभापति शान्ति परियारले यो घटना निश्पक्ष रुपमा छानविन हुन्छ भन्नेमा आफूहरु विस्वस्त नभएकोले सरकारलाई सडकमार्फत खबरदारी गरिरहेकामे बताएकी छिन् । कार्यक्रममा बोल्नेहरुले रुकुमको घटना अन्त दोहोरिन नदिन जातीय विभेद घरघरबाट अन्त्य गर्न जरुरी रहेको बताए ।
रुकुम पश्चिम सोती नरसंहारमा नवराज वि.क, टिकराम सुनार, गणेश बुढा, संदीप वि.क, लोकेन्द्र सुनार र गोविन्द शाही मृत्यु भएका हुन् । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट उनीहरुको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन् ।
