काठमाडौं, २३ जेठ । कोरोना महामारीका कारण समस्यामा परेका १६८ नेपाली लिएर आएको एयर अरेबियाको जहाज काठमाडौं ओर्लिएको छ ।
कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरेबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण भएको हो । नेपाली दूतावास र एयरलाइन्सबीच समन्वय नहुँदा जहाज उडानमा ढिलाइ भएको थियो ।
दूतावासले आफूले तयार पारेको सूची अनुसारका यात्रु लैजानु पर्ने बताए पनि एयरलाइन्सले त्यहाँका कम्पनीको सूची अनुसारका यात्रुलाई लैजाने तयारी भएपछि ढिलाइ भएको जनाइएको छ ।
उनीहरुलाई अब विमानस्थलबाट प्रदेश अनुसार तयार गरिएको होल्डिङ सेन्टरमा लगिने जनाइएको छ । होल्डिङ सेन्टरसम्म लैजाने र विवरण लिएपछि सम्बन्धित प्रदेशको जिम्मा लगाइनेछ । हरेक प्रदेशका लागि मन्त्रीलाई समन्वयको जिम्मा दिइएको छ । आजै म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किएका छन् ।