– विजयकुमार विश्वकर्मा , अध्यक्ष नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवन ।
अहिलेको जुन रुकुम घटना घटेको छ, साह्रै दुःखद् छ । देशभरीका दलित समुदायहरु स्तब्ध भएका छन् । साँच्चै नै यो घटनामा दोषीहरुलाई कारवाही भएन र मृतक परिवारहरुले न्याय पाएनन् भने यसले मुलुकमा ठूलो आन्दोलन निम्त्याउन सक्छ ।
जुन घटनामा गएका, मृत्युवरण भोगेका, घाइतेहरु भएका उहाँहरुप्रति संयुक्त दलित संघर्ष समिति चितवन दुःख व्यक्त गर्दछ र मृत्युवरण भोगेका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । घटनाका जो दोषीहरु छन् उनीहरुलाई हदैँसम्मको कानुनी कारवाही गरिनुपर्छ, दलित समुदायहरुको जुन मागहरु छन् जस्तै ६ जना मृतकहरुलाई साँस्कृतिक शहिद घोषणा गर्नुपर्दछ, पीडित परिवारलाई न्याय संगै उचित क्षतिपूर्तीको व्यवस्था हुनुपर्दछ ।
आगामी दिनमा यस्ता घटनाहरु नघटोस् भन्नका लागि संविधान संशोधन गरेर हदैँसम्मको कानुनी कारवाही, सर्वस्व सहित आजिवन कारवासको सजायको व्यवस्था गर्न हार्दिक अपिल गर्दछु । अहिले २१ औं शताब्दीमा आएर जसरी जातीय विभेदको कारणले पश्चिम रुकुममा जुन नरसंहार घट्यो त्यो निन्दनीय छ ।
यतिखेर हामी मानव मानव वीचमा यस्तो विभेदको घटनाहरु घटिरहेको छ । अहिले यो घटना मात्र नभई सदियौंदेखि पुर्खाहरुले यस्तै किसिमको विभेद सहदैँ आइरहनुभएको छ । अब उप्रान्त दलित समुदायहरुले यस्ता घटनाहरु सहेर बस्ने अवस्था छैन् ।
जसरी अहिले सडक देखि सदन सम्म यो घटनाले उत्कर्ष लिइरहेको छ । जबसम्म अपराधीहरुलाई कानुनी कटघरामा ल्याइदैँन तबसम्म देशभरका दलित समुदायहरु मौन बस्ने अवस्था छैन् । यदि राज्यबाट पीडित परिवारलाई न्याय दिलाउने काम भएन भने दलित समुदायहरूले हतियार बनाउन सक्ने मात्र होइन हतियार चलाउन पनि सक्छन् । हिजो गरिएको व्यवहार अब फेरी भयो भने दलित समुदायहरु हतियार उठाएर अब शसक्त संघर्ष गर्ने छन् ।
विभिन्न किसिमको आन्दोलनको क्रमहरु छ । अन्तरजातीय विवाह गर्नु भनेको मानव मानव बीचको प्रेमलाई मिलनबिन्धुमा पुर्याउनु हो । राज्यको नजरमा कोहि पनि ठूलो सानो हुनुहुदैँन सबै समान हुनुपर्छ ।
समान हैसियत हुदाँ हुदैँ पनि राज्यमा कानुन भएको अवस्थामा संस्कार र संस्कृतिको नाममा जसरी वर्ग समुदायलाई उपेक्षित गरेर एउटा प्रेम सम्बन्धलाई हिन्दु धर्मको अतिवादी कारणले गर्दा जसरी हेपिनुपरेको छ र अपमानित हुनुपरेको छ । यो दुःखद् कुरा हो । दलित समुदायले यस विरुद्ध आन्दोलन गर्दै आइरहेको छ । यो आन्दोलन भनेको सबै जातीहरु समान हुनुपर्छ भन्ने आन्दोलन हो । यो आन्दोलन एउटा व्यक्ति विशेष नभइ एउटा जात संग अर्को जातको विवाह हुदैँन भन्ने कुसंस्कारको विरुद्धको हो ।
जसरी प्रेम सम्बन्धलाई कायम गर्नुपर्छ भन्ने हिसाबमा बीस जनाको समूह त्यहाँ पुगे र जनप्रतिनिधिहरुको नेतृत्वमा ठूलो समूहमा साङ्घातिक आक्रमण भयो त्यो भनेको दलित समुदायमाथीको दमन हो । त्यहाँ केहि अन्याय भएको भए कानुनको जिम्मा लगाउनु पर्नेमा जसरी जनप्रतिनिधिहरुकै नेतृत्वमा नरसंहार भयो यो खेदजनक छ । त्यहाँ केहि ग्रैहकानुनी कार्य भएको भए प्रहरी प्रशासनलाई बुझाउनु पर्थ्र्यो तर घरेलु हातहतियारले नै यसरी प्रयोग गरिनुभनेको एउटा वर्गले अर्को वर्गलाई अपहेलित तुल्याएको हो । त्यसैले त्यसको विरुद्धको यो साँस्कृतिक आन्दोलन हो ।
अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नका लागी जसरी २ जना गैह्र दलितले साथ र सहयोग दिदैँ मृत्युवरण गर्नुभयो । त्यसैले यो घटनाको विषय अन्तर्राष्ट्रिय स्तरमा समेत उठिसकेको अवस्था छ । सदनमा समेत यो घटना शसक्त रुपमा उठेर छानविन आयोग समेत गठन भइसकेको अवस्था छ । त्यसैले ६ जनालाई राज्यले साँस्कृतिक शहिद घोषणा गर्दै सम्मान गर्नुपर्दछ । अन्यथा राज्यले ६० लाख दलित समुदायलाई अपहेलना गरेको ठहर हुनेछ ।
जसरी राज्यले मनुस्मृतिमा आधारित जात व्यवस्था लागु गर्ने १९१०को मुलुकी ऐनलाई प्रसय दिदैँ आयो । पछिल्लो समय सुधार उन्मुख छ । तर कानुन जति बनेपनि कार्यान्वयनको पक्ष फितलो भयो । यो घटनामा सरकार उदाशिनता भएकोले दलित समुदायहरु शसक्त रुपमा आन्दोलित छन् ।
जब यो घटना घटिसके पश्चात सदनमा केहि राजनैतिक व्यक्तित्वले अभिव्यक्ति दिनुभयो । त्यो अभिव्यक्ति सिङ्गो दलित समुदाय माथीको कुठराघात हो । उहाँले अभिव्यक्ति दिए सरह भोली घटनाको दोषीहरु उन्मुक्ति तर्फ अघि बढछन् भने हामी हाम्रै पार्टीको नेता, सभासद्, मन्त्री हुन् भनेर मौन बस्ने छैनौं । हामी झन शसक्त प्रतिरोध गर्नेछौं । यदि राज्यले यो घटनाका दोषीहरुलाई उन्मुक्ति दियो भने उन्मुक्ति दिने योजनाकारहरु एक एकलाई खोजेर हाम्रै किसिमको कारवाही गर्ने चेतावनी दिन चहान्छु ।
(नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष एवम् संयुक्त दलित संघर्ष समिति चितवनका नेता विजयकुमार विश्वकर्मासंग पत्रकार अमिर रामदामले गर्नुभएको कुराकानीको सम्पादित अंश )


