कोरोनाबाट अर्का एकजनाको मृत्यु : ज्यान गुमाउनेको संख्या ११ पुग्यो

सुर्खेत, २३ जेठ । पश्चिम सुर्खेतमा क्वारेन्टिनबाट फर्केर घर गएपछि मृत्यु भएका एक युवकको कोरोना रिपोर्ट पोजेभिट (संक्रमित) आएको छ ।

बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि उनको मृत्यु कोरोना संक्रमणले भएको पुष्टि भएको हो । यही जेठ ७ गते भारतबाट आएका उनी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो ।

ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरेका छन् । ‘डेथ भएकोले प्राथमिकता दिनु भनिएको थियो । राति २ बजेसम्म काम गरेर रिपोर्ट निकाल्यौं । पोजेटिभ आएको छ,’ उनले भने ।

मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको वडाध्यक्ष धनबहादुर थापाले जानकारी दिएका छन् । मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको उनले बताए ।

मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो ।

शेयर गरौ

ताजा अपडेट