रूकुम घटनाकाे बिराेध : चितवनमा मुसलधारे पानीको प्रवाह नगरी प्रदर्शन

अमिर रामदाम,
चितवन, २१ जेठ । पश्चिम रूकुममा भएको नरसंहारको न्याय माग्न संयुक्त दलित संघर्ष समिति चितवनको आयोजनामा गरिएको आन्दोलनलाई बुधबार साँझ मुसलधारे पानीले पनि रोक्न सकेन ।

“घटनाको निश्पक्ष छानविन गर, अपराधीहरूलाई कारवाही गर, समतामूलक समाज निर्माण गर” लगायतका नाराहरू मुसलधारे पानी परेपनि भरतपुर चौबिसकोटीमा गुञ्जयमान भइरह्यो ।

मुलुकमा छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १४ वर्ष भएपनि व्यवहारमा लागू हुन नसकेको र पश्चिम रूकुममा भएको नरसंहारको घटनाको विरोध गर्दै बुधबार संयुक्त दलित संघर्ष समिति चितवनले नारायणगढ लायन्सचोक देखि भरतपुर चौबिसकोटीसम्म विरोध र्याली गरेको छ ।

“हामीले पूर्व घोषित रूकुम पश्चिम नरसंहारको विरोधमा आज बुधबार विरोध र्याली निकाल्दै दबाबमूलक कार्यक्रम सम्पन्न गरिएको छ तर लगातारको अविरल वर्षाका कारण आज हुने विशेष कोणसभा जेठ २४ गते गरिने” संयुक्त दलित संघर्ष समिति चितवनका नेतृत्वकर्ता एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवन अध्यक्ष विजयकुमार विश्वकर्माले जानकारी दिएका छन् ।
उनले जेठ २४ गते शनिबार जिल्ला प्रशासन कार्यालय चितवन देखि चौबिसकोटी सम्म विरोध र्याली गर्ने जानकारी समेत दिएका छन् र यो विभेद विरूद्धको आन्दोलनमा सहयात्री बन्नका लागी न्यायप्रेमी सबैलाई अनुरोध गरेका छन् ।

संयुक्त दलित संघर्ष समिति चितवनका अर्का नेतृत्वकर्ता एवम् नेपाल दलित संघ चितवनका सभापति शान्ति परियारले न्यायका लागी संघर्षमा रहेको र संघर्षलाई पानीले पनि रोक्न नसक्ने बताएकी छिन् । उनले जबसम्म रूकुम पश्चिम नरसंहार घटनाको दोषीलाई कारवाही हुँदैन तबसम्म चितवनमा दलित समुदायले आन्दोलनका कार्यक्रमहरू झन् शसक्त बनाउने बताएकी छिन् ।

शेयर गरौ

ताजा अपडेट