चितवन, १८ जेठ । संयुक्त दलित संघर्ष समिति चितवनले उज्यालोमा नै दीप प्रज्वलन गर्दै रूकुम पश्चिममा भएको घटनाको साङ्केतिक विरोध गर्ने भएको छ ।
संघर्ष समिति चितवनले भोली सोमबार नारायणगढको लायन्सचोकमा जम्मा भएर शान्तिपूर्ण विरोध र्याली गर्दै भरतपुरस्थित चौबिसकोटीमा ५ बजे उज्यालोमा दीप प्रज्वलन गर्दै घटनाको साङ्केतिक विरोध गर्ने भएको हो ।
आज भरतपुरस्थित गंगाराम कलेजमा दलित आन्दोलनको अग्रणी व्यक्तित्व रणेन्द्र बराइलीको अध्यक्षतामा बसेको बैठकले भोली हुने विरोधको कार्यक्रम निर्णय गरेको हो ।
त्यस्तै आजको बैठकले आन्दोलनलाई अझ शसक्त रूपमा अघि बढाउन नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजयकुमार विश्वकर्मा र नेपाल दलित संघ चितवनका अध्यक्ष शान्ती परियारको आलोपालो नेतृत्वमा अघि बढाउने निर्णय गरेको छ ।
आजको बैठकले १७ सदस्यीय सचिवालय समिति निर्माण गरेको छ । आन्दोलनलाई मर्यादित बनाउन र कोभिड १९ बाट बच्न ९ बुँदे आचारसंहिता पारित गरेको छ ।