भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको रिपोर्ट नेगेटिभ आजै डिस्चार्ज गरिदै

चितवन १८ जेठ । कोरोना संक्रमित भएर उपचार गराइराखेकी एक गर्भवाती महिलाको परीक्षण नेगेटिभ आएपछि भरतपुर अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।
जेठ १४ मा हेटौंडामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी सोही दिन भरतपुर अस्पताल आएकी थिइन् । ‘अस्पताल बुधबार आए पनि नमुना लिएको दिनदेखि गणना गरेर हप्तादिन पुगेका आधारमा शुक्रबार पहिलो पटक नमुना लिएर परीक्षण गरेको थियो ।
परीक्षणमा नेगेटिभ आएको भरतपुर अस्पतालले जानकारी दिएको छ । फेरि शनिबार पनि नमुना संकलन गरेर हेर्‍यौं, त्यसमा पनि नेगेटिभ नतिजा आयो,’ भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले भन्नु भयो । उहाका अनुसार लगातार दुई पटक नेगेटिभ नतिजा आएपछि संक्रमण नभएको ठहर गर्ने प्रक्रिया छ ।

चितवनमै डेरामा बस्दै आएकी ती महिला जेठ ९ गते हेटौंडास्थित घर गएकी थिइन् । संक्रमण भेटिएपछि उनको सम्पर्कमा रहेका चितवनका व्यक्तिको पनि परीक्षण गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार उनी बस्ने घरका तीन र छिमेकी एक जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो ।

हाल भरतपुर अस्पतालको आइसोलेसन वार्डमा यी महिलासहित तीन जना संक्रमित छन् । यसअघि चितवनका दुई जना निको भएर घर फर्किसकेका छन् । भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा पनि हाल चार जना उपचाररत छन् ।

शेयर गरौ

ताजा अपडेट