कोरोनाको ग्राफ बढ्दो : एकैदिन १८९ जना संक्रमण, कुल १४ सय नाघ्यो

काठमाडौं, १७ जेठ । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनदिनै बढ्न थालेको छ ।  आज (शनिबार) मात्र नेपालमा थप १८९ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमितमध्ये चार महिला र १८५ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २५७५ जनाको पिसिआर परीक्षण गरिएको छ । ती परीक्षणका क्रममा देशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका १८९ सहित नेपालमा संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।

नेपालमा हालसम्म सबैन्दा धेरै संक्रमित थपिएका आज नै हो । शुक्रबार १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६ जनाको ज्यान गइसकेको छ । संक्रमण देखिएकामध्ये २१९ जना उपचारपछि निको भइसकेका छन् । आज १३ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २१९ पुगेको हो ।

ताजा अपडेट