चितवन १६ जेठ । भरतपुर महानगरपालिका भित्र तीनसय ५५ वेड क्षमताको क्वारेन्टाइन निर्माण भएको छ ।
भारतसहित बाहिरी जिल्लाबाट आएकाहरुलाई राख्नको लागि महानगरको २८ वटा वडामा क्वारेन्टाइन निर्माण भएको हो । भारतबाट आउने नेपालीको सख्या वृद्धि भएपछि क्वारेन्टाइन निर्माणलाई तीब्रता दिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्नु भयो ‘महानगरमा मात्रै तीनसय ५५ वेड सख्या निर्माण भइसकेको छ । आवश्यकता अनुसार क्षमता वृद्धि गर्दै लैजाने तयारी भएको छ उहाले भन्नु भयो ।
अहिले वडा नं. १ देखि २८ सम्म निर्माण भइसकेका छन् । बाहिरबाट आएकालाई बस्नको लागि असुविधा छैन हामीले स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्री सहतिको व्यवस्था गरेका छौ प्रमुख दाहालले भन्नु भयो । २९ नम्वर वडामा निर्माणको क्रममा रहेको छ एकदुइ दिनमा त्यहाँ पनि बन्ने छ ।
उहाका अनुसार क्वारेन्टाइनमा बस्नेहरुलाई स्वास्थ्य परीक्षण, शौचालय, पानी, मास्कलगायतको व्यवस्था, पौष्टिकखानाको व्यवस्था मिलाएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ का अध्यक्ष बाबुराम अधिकारीले भन्नु भयो ‘क्वारेन्टाइनमा बस्नेहरुको लागि विहान योगा, सुरक्षा व्यवस्था, मासुसहितको खाना, दुरी कामय, स्वास्थ्य सामग्रीको उपलब्धता मिलाइएको छ ।’
भरतपुर महानगरपालिकामा अहिले एकसय ८७ जना क्वारेन्टाइनमा बसेका छन् भने ३४ जना फिर्ता भएका छन् । ३८ जना भने होमक्वारेन्टाइनमा बसेका छन् । कोरोना संक्रमणको सख्या वृद्धि हुन थालेपछि कडाइका साथ लकडाउन पालना गर्न लगाइएको छ । भारत र अन्य स्थानबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण गराएर मात्र जान दिएको छ ।
महानगरपालिका भित्र निर्माण भएका क्वारेन्टाइन स्थल विद्यालयको भवनलाई लिएको छ । विद्यालय बाहेक मन्दिर र सार्वजनिक भवनलाई पनि प्रयोग गरिएको छ । अन्य स्थान अभावको कारण विद्यालयको भवन लिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिनु भयो । क्वारेन्टाइन निर्माण गर्दा सम्वन्धीत वडा अध्यक्ष, स्वास्थ्य सस्था, विद्यालय व्यवस्थापन समिति, सुरक्षा निकायका प्रतिनिधि सहभागी भएको समिति निर्माण गरिएको छ ।
क्वारेन्टाइनमा हुनु पर्ने न्यूनतम व्यवस्थामा शौचालय र सरसफाइ, दुरी कायम, बत्ती, खानेपानी, झुल, माक्स, स्यानिटाइजर, सुरक्षा, दैनिक एकपटक स्वास्थ्य परीक्षण, खाना, खाजाको व्यवस्था र आचारसंहिताको पालनालाई कडाइका साथ पालना गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहितको टोलीले शुक्रबार क्वारेन्टाइनको अनुगमन गरेको थियो ।