झापा, १६ जेठ । भारतसँग सोझो सम्पर्क हुने झापामा आज (शुक्रबार) थप २८ जनामा कोरोना संक्रमण फेला परेको छ ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । शुक्रबार संक्रमण देखिएका सबै कचनकवल गाउँपालिकाका हुन् । संक्रमित सबै लकडाउनकै समयमा भारतबाट आएका हुन् ।
शुक्रबार कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा देखिएका २७ संक्रमित सबैजना कचनकवलका भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।
कचनकवल गाउँपालिकाका ६ वटा क्वारेन्टाइनमा अहिले ३५० जना छन् । उनीहरु सबै भारतबाटै आएका हुन् ।
यसअघि कचनकवल गाउँपालिकामा भारत बाट आएर क्वारेन्टाइनमा बसेका ७३ जनामा कोरोना संक्रमण देखिएको थियो । हाल संक्रमित कोभिड अस्पताल विराटनगर र धरानमा उपचाररत छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईका अनुसार संक्रमित देखिएकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।