बागलुङमा ६ जनामा कोरोना संक्रमण

पोखरा १४ जेठ । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश प्रगोलशालाका एक कर्मचारीले जानकारी दिए । संक्रमितबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिइएको उनले बताए ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आफ्नो गाउँपालिकाका ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको आफूले जानकारी पाएको बताए । अध्यक्ष बुढामगरका अनुसार, सुनौली नाकाबाट उद्धार गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई बागलुङको आइसोलेसनमा पठाउने तयारी भएको उनले जानकारी दिए ।

बडिगार्ड गाउँपालिकामा भेटिएका कोरोना संक्रमितलाई पनि बागलुङकै आइसोलेसनमा पठाउने तयारी गरिएको उक्त गाउँपालिकाका अध्यक्ष मेहनसिंह पाइजाले जानकारी दिए ।

तमानखोला गाउँपालिकामा संक्रमित ४ जनासँगै ८ जना आएको अध्यक्ष जोकलाले जानकारी दिए । बाँकीको कोरोना संक्रमणको नतिजा नेगेटिभ आएको र उनीहरुसहित १४ जना गाउँपालिजकाको क्वारेन्टाइमा रहेको उनले बताए ।

बडिगार्ड गाउँपालिकाले ६ जनाको उद्धार गरेकोमा २ जनामा कोरोना देखिएको हो । ‘६ जना आएकोमा २ जनामा कोरोना संक्रमण देखियो भने बाँकीको नतिजा नेगेटिभ आयो,’ अध्यक्ष पाइजाले भने, ‘गाउँपालिकाको क्वारेन्टाइनमा २ सय १३ जना छन् । आज पनि ५३ जना आउँदै छन् ।’

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । तीमध्ये बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । मंगलबारमात्र स्याङ्जाको वालिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शेयर गरौ

ताजा अपडेट