चितवन, ९ जेठ । चितवनको गीतानगरमा भेटिएका दुई जना संक्रमित भारतको दिल्लीबाट दुई वटा एम्बुलेन्स प्रयोग गर्दै नेपाल आएको पाईएको छ । दिल्लीबाट नेपालको सीमा कृष्णनगरसम्म एउटा एम्बुलेन्स र त्यहाँबाट अर्काे एम्बुलेन्समा उनीहरु आएका हुन् ।
भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीका अनुसार उनीहरु जेठ ३ गते यहाँ आईपुगेका थिए । भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार कोरोना भाइरस पोजेटिभ देखिएका उनीहरुलाई राती २ बजे भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ । सो प्रयोगशालामा बिहीबार परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पिसिआर परीक्षण पोजेटिभ देखिएको थियो ।
भरतपुर महानगरपालिका वडा नं.६ केशरबागका वृद्ध दम्पत्तीमा पोजेटिभ देखिएको हो । सुवेदीका अनुसार ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धामा पोजेटिभ देखिएको छ । उनीहरुसँगै फर्किएका जेठा छोराको भने परीक्षण नेगेटिभ देखिएको छ । वृद्ध वृद्धा र सँगै फर्किएका छोरा पनि अस्पताल आएका छन् ।
बृद्ध दम्पत्ती र छोरा गत चैत २ गते उपचारको लागि दिल्ली गएको उनका कान्छा छोरालाई उदृत गर्दै सुवेदीले जानकारी दिनुभयो । बृद्ध (बुबा) को क्यान्सरको उपचार गर्न उनीहरु दिल्ली गएका थिए । दिल्लीको राजीवगान्धी अस्पतालमा उनलाई तेस्रो साईकलको केमो चढाईएको बताईएको छ ।
दिल्लीबाट फर्किएपछि उनीहरु घरको माथिल्लो तल्लामा क्वारेन्टाइनको नियम पालन गर्दै बसेका थिए । दुई छोरा, दुई बुहारी र दुई नातिनातिना समेत ८ जनाको परिवार रहेको भए पनि दिल्लीबाट फर्किएका तीनै जना अलग्गै बस्दै आएको पाईएको सुवेदीले जानकारी दिनुभयो । सुवेदीले भन्नुभयो “उनीहरु आफैलाई शंका लागेर क्वारेन्टाइनको नियम पालन गरेको देखियो ।” क्न्ट्याक्ट ट्रेसिङमा खटिनु भएका सुवेदीका अनुसार उनीहरु बिहीबार आफै परीक्षण गर्न भरतपुरस्थित ल्याब आएका थिए ।
स्थानीयहरुले पनि उनीहरु दिल्लीबाट आएपछि घरबाट बाहिर ननिस्केको बताएका छन् । घर नजिकै एउटा घर भए पनि अन्य घर भने धेरै टाढा टाढा रहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले संक्रमित देखिएको टोललाई शिल गरेर कन्ट्याक ट्रेसिङको काम भईरहेको बताउनुभयो ।