संविधान संशोधन विधेयक संसदमा दर्ता, नयाँ निशान छापकाे प्रस्ताव

काठमाडौं, ९ जेठ । सरकारले आज (शुक्रबार) संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।
शुक्रबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दर्ता गरेको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनकारी दिएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अनुसूची–३ रहेको निशान छापमा लिम्पियाधुरा समेत समेटेर संशोधन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम कानुनमन्त्री तुम्बाहाङ्फेले संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

नेपालको संविधानको धारा (९) को उपधारा (२)मा नेपालको निशान छाप अनुसूची–३ मा उल्लेख भए बमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुसारको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची–३ को निशान छाप अंकित नेपालको नक्सालाई नेपालको वास्तिवक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन प्रस्ताव पेश गरिएको संशोधन विधेयककको उद्देश्य र कारणमा उल्लेख गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट