काठमाडौं ८ जेठ । नेपाली भूमि अतिक्रमण गरेर भारतले मानसरोवर जाने सडक बनाएको विषयमा विरोध भइरहँदा नेपालले व्याँस–१, छाङरुमा राखेको बोर्डर आउट पोस्ट (बीओपी) को व्यापक चर्चा भयो । जब कि, त्यहाँ पहिल्यैदेखि नेपाल प्रहरीको चौकी छ ।
पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल त्यस क्षेत्रमा २०३० को दशकदेखि नै नेपालको उपस्थिति रहेको बताउँछन् । सीतापुल र तिङ्करमा पहिलेदेखि नै प्रहरी चौकी छ ।
२०३८ सालमा दार्चुलाको प्रमुख जिल्ला अधिकारी रहेका ढुंगेल छाङरुमा २०३४ कात्तिकदेखि नै प्रहरी चौकी रहेको बताउँछन् । ‘बीओपी स्थापनाको विरोध गर्न खोजेको बिल्कुलै होइन । तर, त्यहाँ पहिलोपटक नेपालको सुरक्षा पोस्ट पुग्यो भन्नु झूट हो’, डा. ढुंगेल भन्छन्, ‘त्यसो भन्नु भनेको त्यस क्षेत्रमा काम गरिसकेका सुरक्षाकर्मी र कर्मचारीको अनादर हो ।’
नेपाली भूमि अतिक्रमण गरेर भारतीय सुरक्षाकर्मी बसेको कालापानीभन्दा करिब १३ किलोमिटर पूर्वको गाउँ हो, छाङरु ।
‘बीओपी कौवामा राखौं’
सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली (काली) नदी नै नेपाल र भारतको सीमा हो । सीमा समस्या समाधान हुनुअघि नेपालले कौवामा बीओपी राख्नुपर्ने ब्याँसवासीको माग छ ।
ब्याँस गाउँपालिका– १ का वडाध्यक्ष अशोक बोहरा स्थानीयले पहिलेदेखि नै कौवा चौरमा चौकी राख्न माग गर्दै आएको बताउँछन् । उनका अनुसार, सीतापुलबाट करिब सात किलोमिटर पश्चिमा पर्ने कौवामा तीन सय रोपनी जति क्षेत्रफलमा फैलिएको चौर छ ।
‘नेपाली सुरक्षा निकायको लागि त्यो चौर निकै उपयुक्त हुन्छ भन्ने हामीलाई लागेको छ’, उनले टेलिफोनमा भने ।
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका दिलेन्द्रप्रसाद बडू पनि कौवा क्षेत्रमै बीओपी राख्नुपर्नेमा जोड दिन्छन् । नेपाली सुरक्षाकर्मीलाई आवश्यक सबै सुविधा उपलब्ध गराएर कौवामा बीओपी राख्नुपर्ने उनको माग छ ।
‘भारतले कालापानीमा जसरी आफ्नो फौज राखेको छ, हामीले त्योभन्दा बढी सुविधासहित हाम्रो सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने देखिन्छ’ बडू भन्छन्, ‘धेरै उचाइमा रहेकाले पनि कौवाबाट सीमा निगरानी गर्नु उपयुक्त हुन्छ ।’