चितवन, ५ जेठ । भरतपुर कोरोना अस्थायी अस्पतालमा नै राखेर विरामीको उपचार गरिन थालिएको छ ।
विरामीको कमी र ल्याबमा किटको अभावले खाली रहेको अस्पतालमा अहिले सबै व्यवस्था भएपछि त्यही राखेर उपचार गरिएको हो । भरतपुर अस्पतालले सञ्चालन गर्दै आएको कोरोना अस्थायी अस्पतालमा अहिले एक जना संक्रमित विरामीलाई राखिएको छ । यस अगाडि दुइ जना कोरोना विरामीलाई भरतपुर अस्पतालमा नै राखेर उपचार गरिएको थियो ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले भन्नु भयो कोरोना संक्रमित बिरामीलाई अलगै अस्पतालमा राखेर उपचार गर्ने भनेर निर्माण गरेकाले त्यही राख्न थालिएको हो । यस अघि केही जटिलताका कारण हामीले दुइजनालाई भरतपुर अस्पतालमा राखेर उपचार गरेका थियौ । अब पहिलो चरणमा कोरोना अस्थायी अस्पतालमा नै राखिने छ ।
उपचारका क्रममा अस्पतालमा कोरोना बिरामी आए र उनको सम्पर्क अन्य व्यक्तिमा भएमा अस्पतालनै शिल गर्नु पर्ने हुन्छ । त्यसैले रोगको पहिचान र सामान्य अवस्थामा त्यही आइसोलेशनमा उपचार गरिन्छ । विरामीलाई जटिलता आएमा मात्र भरतपुर अस्पतालमा ल्याइने छ उहाले भन्नु भयो । ओपीडीमा आएका अन्य विरामीको उपचार सञ्चालन गरिरहनको लागि भरतपुर अस्पताल भन्दा पर कोरोना अस्थायी अस्पतालमा नै विरामी राखिएको हो ।
सरकारी नियम अनुसार नै शंका लागेका र कोरोना विरामीलाई अलगै अस्पतालमा राखेर उपचार गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीले भन्नु भयो । संक्रमितको सख्या वृद्धि भएमा पहिलो चरणमा भरतपुर अस्पतालमा राखेर उपचार गर्न सहज हुदैन त्यसैले अलगै अस्पताल निर्माण गरिएको हो त्यही राखिनेछ ।
भरतपुरको कोरोना ल्याबमा एकै दिन ३३ जनाको स्वाब परीक्षणका लागि राखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुरका विभिन्न अस्पतालमा उपचारका लागि आएका र कोरोना अस्पतालमा आएकाहरु गरी ३३ जनाको स्वाव लिएको हो । उनीहरुको परीक्षणपछि संक्रमण भएर आइसोलेसन र संक्रमण नभए होम क्वारेन्टाइनमा पठाइने उहाले बताउनु भयो ।
कोरोना अस्पताल आवश्यक
कोरोना विरामीको लागि अलगै राखेर उपचार गर्ने अस्पतालको आवश्यकता नेपालमा खड्किएको छ । भखैरै मात्र सुत्केरी महिला कोरोनाको संक्रमणको कारणले मृत्यु भएपछि उनको उपचारको गरिएको काभ्रे अस्पतालमा सिल गरिएको छ । कोरोना संक्रमणको डरले अस्पताललाई शिल गरिएको हो । कोरोना संक्रमण भएका विरामीलाई ओपीडी वा इमरेजेन्सी मार्फत अन्य अस्पतालमा उपचार गरिन थालिए त्यसबाट अन्य व्यक्तिलाई कोरोना संक्रमण वढेर जान्छ । यसको लागि हरेक जिल्लामा कोरोना अस्पता अस्पतालको आवश्यकता खड्किएको छ ।
चितवनमा यही अभावलाई पूरा गर्नको लागि स्थापना गरिएको कोरोना अस्पताललाई अधिकतम उपयोग गर्नु पर्ने देखिन्छ । तराईका पर्सा, रुपन्देही, बाँके जिल्लामा कोरोनाका विरामीको सख्या वृद्धि भएको छ । यो क्रम अझ वृद्धि भएमा भरतपुरमा उपचारको लागि ल्याउने सम्भावना देखिन्छ । यसले गर्दा पनि हरेक जिल्लामा कोरोना अस्थायी अस्पतालको आवश्यकता रहेको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी बताउनु हुन्छ ।