काठमाडौं, ४ जेठ । कोरोना भाइरस संक्रमणबाट सिन्धुपाल्चोककी नौं दिने सुत्केरी महिलाको मृत्यु भएपछि बाहबिसे बजार पूर्णरुपमा बन्द भएको छ ।
सम्भावित जोखिमलाई मूल्याङ्कन गर्दै अहिले मृत्तक महिलाको गाउँ र स्थानीय चार स्वास्थ्य चौकी शिल गरिएको छ । सम्भावित जोखिमबाट सर्वसाधरणलाई जोगाउन सेना परिचालन गरिएको छ ।
लकडाउनमा कडाइ गर्न बाह्रबिसे नगरपालिकाका वडा नम्बर ८ र ९ तथा बलेफी गाउँपालिकाका ७ र ८ नम्बर वडामा सेना परिचालन भएको बाह्रबिसे नेगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले जानकारी दिएकी छन् । बाह्रबिसे ती महिलाको घर हो भने बलेफी उनको माइती हो ।
उपमेयर पाख्रिनका अनुसार बाह्रबिसे बजार पनि आइतबार बिहानबाट पूर्णरुपमा बन्द गरिएको छ । ‘अरु दिनमा अत्यावश्यक खाद्य सामग्री किनबेच गर्न केही घण्टा खोलिन्थ्यो, आज बिहान त बजार पूरै बन्द गरिएको छ,’ उपमेयर पाख्रिनले भनिन् ।
शनिबार बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको मृत्युलगत्तै शनिबारदेखि नै जोखिमयुक्त गाउँ र बजार क्षेत्रमा कडाइ गरिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको टोली पनि सिन्धुपाल्चोक गएर अनुसन्धान गर्दैछ । बाह्रबिसेकी ती महिला कोरोनाबाट ज्यान गुमाउने नेपालको पहिलो व्यक्ति हुन् । आइतबार बिहानसम्म नेपालमा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको टोली आज सिन्धुपाल्चोक जाँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली आज सिन्धुपाल्चोकको बाह्रबिसे जाने भएको छ ।
नेपालमा पहिलो पटक कोरोनाबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएपछि त्यसको अनुसन्धान गर्न मन्त्रालयको टोली त्यहाँ जान लागेको हो ।
सो टोलीले महिलाको घर, माइती, वरपरका बजार र उनको सम्पर्कमा आएका व्यक्तिहरुको सम्भावित जोखिम आँकलन गर्ने छ ।
आफ्नो निर्वाचन क्षेत्रकी महिलाको कोरोनाबाट मृत्यु भएको जानकारी पाए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी स्वास्थ्य विज्ञहरुको टोली पठाउन आग्रह गरेका थिए । सभामुख र स्वास्थ्य मन्त्रीबीच मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी नेतृत्वको टोलीलाई सिन्धुपाल्चोक पठाउने कुराकानी भएको थियो ।
स्वास्थ्य मन्त्रालयको मन्त्रालयको टोलीसँगै बागमती प्रदेश सरकारर्को यापिड एक्सन फोर्सको टोली पनि सिन्धुपाल्चोक जाँदैछ ।
बाह्रबिसे नगरपालिकाका मेयर निमाफुन्जो शेर्पाले स्वास्थ्य मन्त्रालय र प्रदेश मन्त्रालयको टोली आज सिन्धुपाल्चोक आउन लागेको जानकारी आफूले पाएको बताएका छन् । शनिबार धादिङमा रहेको प्रदेश सरकारको टोली राति काठमाडौं आइपुगेको छ र आइतबार सिन्धुपाल्चोक पुग्ने बताइएको छ ।