रौतहट ४ जेठ । रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरस (कोभिड-१९) का १० जना संक्रमीत भारतबाट आएको खुलेको छ ।
राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो । उनीहरू केही दिनअघि मात्रै भारतको मुम्बई, गुजरातलगायतका ठाउँबाट आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
प्रजिअ घिमिरेका अनुसार भारतबाट फर्केलगत्तै उनीहरूलाई सिधै क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरूको गत शुक्रबार स्वाबको नमुना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो ।
संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ । उनीहरूलाई सिधै क्वारेन्टाइनमा लिइएकाले परिवार र समुदायमा संक्रमणको खतरा नरहेको तर पनि सावधानी अपनाइने प्रजिअ घिमिरले बताए ।
योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ । रौतहटको इशनाथ, वृन्दावन र देवाही गोनाही नगरपालिकामा पहिले नै तीनजना संक्रमित फेला परेका थिए ।