दासढुंगामा मदन-आश्रितकाे सम्झना

चितवन,जेठ ३। तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुंगामा शनिबार मदन आश्रित स्मृति दिवस मनाईयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले संक्षिप्त कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाएको हो ।

लकडाउनको समयमा ठूलो संख्या र भिडभाड गर्न नमिल्ने भए पछि बिहान दासढुंगामा सीमित उपस्थितमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सो अवसरमा नेकपा चितवनका जिल्ला इन्चार्ज कृष्ण खनालले मदन भण्डारीले देखाएको बाटोमा अहिले पनि पार्टी अघि बढ्दै गएको बताउनुभयो । उहाँले मदन भण्डारीले जनता र पार्टीलाई जोडेर अगाडि बढ्ने कुरा सिकाएको भन्दै त्यसलाई कार्यान्वयन गर्दै जानु पर्नेमा जोड दिनुभयो । सो अवसरमा जिल्ला अध्यक्ष यमबहादुर परियारलगायतले मदन–आश्रितको चर्चा गर्नुभयो ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुले मदन आश्रितको शालिकमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारण गर्नुभएको थियो ।

बि.सं. २०५० साल जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा मदन आश्रित चढेको जीप रहस्यमय रुपमा दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको थियो । आश्रितको शव घटनास्थल नजिक त्रिशुली नदीमा दुर्घटनाग्रस्त जीपभित्र नै भेटिएको थियो भने भण्डारीको शव गाजीपुरमा भेटिएको थियो ।

शेयर गरौ

ताजा अपडेट