काठमाडौ २७ वैशाख । कोरोना भाइरसको संक्रमणबाट निको हुन थालेका संक्रमितको वीर्यमा कोरोना भाइरस भेटिएको छ ।
योसँगै कोरोना भाइरसको संक्रमण यौनसम्पर्कबाट पनि फैलिन सक्ने सम्भावना देखिएको छ । चीनको शांगकियु नगर अस्पतालले ३८ जना संक्रमितको वीर्य परीक्षणबाट यो अध्ययन सार्वजनिक गरेको हो ।
ती मध्ये १६ प्रतिशतको वीर्यमा कोरोना भाइरस फेला परेको हो । जामा नेटवर्क ओपनमा प्रकाशित अध्ययनले वीर्य परीक्षण गरिएकामध्ये एकचौथाइ संक्रमित संक्रमणको अवस्थामा रहेका र नाै प्रतिशत निको भइरहेको अवस्थामा रहेको उल्लेख गरेको छ ।
‘हामीले संक्रमितको वीर्यमा समेत कोरोना भाइरस रहेको पाएका छौँ, यसका साथै निको भइरहेका संक्रमितको वीर्यमा समेत कोरोना भाइरस भेटिएको छ,’ चाइनिज पिपुल्स लिब्रेसन आर्मी अस्पताल बेइजिङका डिएन्गेङ ली र उनका सहकर्मीहरूले लेखेका छन् ।
भाइरसले वीर्यमा आफ्नो संख्या वृद्धि गर्न नसके पनि त्यहाँ पाइएको जनाइएको छ । त्यस्तै उनीहरूले शरीरको प्रतिरक्षा प्रणालीले अन्य भाइरसविरुद्ध लड्न नपुग्ने क्षेत्रको परीक्षण गरेको बताएका छन् ।
अर्थात् कि मानिसको शरीरका कुनै अंगहरूमा भाइरसको संक्रमण भए पनि कुनै लक्षण नदेखाएरै त्यो रहन सक्ने क्षमताका हुन्छन् । यसअन्तर्गत अण्डकोष, आँखालगायतका अंग पर्छन् ।
यद्यपि यो कुनै आश्चर्यजनक तथ्य भने हाेइन, इबोला र जाइकाजस्ता भाइरस पनि संक्रमित निको भएको महिनौँपछि मानिसको वीर्यमा पनि पाइएका थिए ।
त्यस्तै यो अध्ययनले वीर्यमा पाइएको भाइरसले फेरि संक्रमण फैलाउन सक्छ वा सक्दैन भनेर पनि पुष्टि गरेको छैन । ‘थप अध्ययनहरूपछि यदि कोरोना भाइरस यौन संक्रमणबाट पनि सर्न सक्छ भन्ने देखायो भने त्यो जोखिमको अवस्था हुनेछ,’ अध्ययनकर्ताहरूले भनेका छन् ।
संक्रमित निको भइसकेपछि पनि वीर्यमा रहेका भाइरसबाट संक्रमण फैलिन सक्ने सम्भावना भने कम हुने विज्ञहरूको भनाइ छ । किनकि यस्तो अवस्थामा फेलापर्ने धेरैजसो भाइरस निष्क्रिय रूपका रहने भाइरोलोजिष्टहरू बताउँछन् ।
यसबाट संक्रमितको ऱ्याल र रगतबाहेक अर्काे माध्यमबाट पनि संक्रमण फैलिन सक्ने कुराको खतरा भने देखाएको छ ।