नेपालगन्ज २३ बैशाख । कोरोना संक्रमितको संख्या लगातार बढेर खतरा बढेपछि नेपालगञ्जमा आजदेखि कर्फ्यु लगाउने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयमा सोमबार दिउँसो बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। कर्फ्युको समयमा औषधि पसलबाहेक सबै बन्द हुनेछन। प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर दिएको सुझाबका आधारमा जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो।
नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको दुई दिनपछि आइतबार उनीसँग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको थियो।
यसैबीच, कोरोना संक्रमितको संख्या बढेपछि बाँकेका संघीय सांसदहरूले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटी कोरोना परीक्षण किटसहित प्राबिधिक टोली पठाउन माग गरेका छन्। भेटमा पूर्णाकुमारी सुवेदी, मोहम्मद इस्तियाक राई, नन्दलाल रोकाया,सर्वतारा खान सहभागी थिए।
भेटमा स्वास्थ्यमन्त्री ढकालले दुई सय ५० थान किट पठाउन लगाएको र अन्य सामग्री पठाउने तयारी भइरहेको जानकारी दिएका थिए ।