चितवन, १७ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखाले समाचार लेखेको विषयलाई लिएर धम्क्याउनेलाई कार्बाही गर्न सम्वन्धीत निकायसंग माग गरेको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाद्धारा जारी विज्ञप्तिमा समाचारको विषयलाई लिएर धम्कीको भाषामा विज्ञप्ति जारी गरी चेतावनी दिएको थियो ।
बुधबार जारी विज्ञप्तीमा भरतपुर कोरोना अस्पतालको विषयमा प्रकाशित समाचारलाई लिएर पत्रकार सुवास पण्डिलाई कर्मचारी संगठनले नै कारवाही गर्ने धम्की दिएको प्रति खेद प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ त्यस्ता धम्की दिनेलाई कारवाही गर्न महासंघले माग गरेको हो । महासंघले धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारवाही गर्न, पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी पत्रकारको सुरक्षामा संवेदनशील बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘अस्पतालका विषयमा प्रकाशितरप्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ती नै निकालेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ चेतावनीसहित धम्की दिनु निन्दनीय र खेदजनक छ । प्रकाशित समाचार प्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक छ ।’
केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो ।