चितवन, १७ वैशाख । समाचार लेखेकै कारण पत्रकारलाई धम्की दिएको भन्दै नेपाल प्रेस युनियन चितवनले घोर आपत्ती जनाएको छ ।
युनियनका जिल्ला अध्यक्ष अनिल ढकालद्धारा जारी विज्ञप्तिमा अनलाइनखबर डटकम चितवनका संवाददाता सुवास पण्डितलगायत पत्रकारलाई समाचार लेखेको विषयलाई लिएर धम्की दिएको भन्दै त्यस्ता हर्कत नगर्न भनिएको छ ।
भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत कर्मचारीबाटै भएका शंकास्पद गतविधिका सन्दर्भमा आएका समाचारलाई लिएर धम्की र गालीगलौजप्रति युनियनको गम्भिर ध्यानाकर्षण भएको भनिएको छ । समाचार लेखेकै कारण चेतावनीसहितको धम्की दिएका भन्दै युनियनले घोर भत्र्सना गरेको हो ।
विज्ञप्तीमा भनिएको छ–‘प्रकाशित समाचारमा चित्त नबुझे कानुनी उपचार गर्ने प्रशस्त मार्ग हुँदा हुँदै आएका धम्की समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहार हो भन्ने हाम्रो ठम्याई छ, अस्पतालका विषयमा प्रकाशितरप्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले संयुक्त विज्ञप्ती प्रकाशित गरेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ भनी उल्लेख गरेको प्रति हामी रोष प्रकट गर्दछौं ।’
त्यस्तै युनियनले सत्तारुढ जिम्मेवार दलबाट नै समाचार लेख्नबाट रोक्ने गरी आएका वक्तव्यले लोकतान्त्रिक व्यवस्थाको नै खिल्ली उडाएको महसुस गरिएको जनाएको छ । युनियनले पत्रकारहरुमाथि धम्की दिनेहरुलाई कानुनी कारवाही गरी पत्रकारहरुको सुरक्षा ग्यारेण्टी गर्न प्रशासनसंग माग गरेको छ ।
केही दिन अघि सीसीटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो । सत्यतथ्य समाचार बाहिर आएपछि चोरी गर्ने व्यक्ति र त्यसको बचाउका लागि विभिन्न सस्था लागिपरेका छन् । घटनाको चौतर्फी आलोचना र विरोध भएको छ ।