चितवन १६ बैशाख । कोरोना अस्पतालको सामग्री चोरी भएको भनिएको सीसी फुटेज सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाले छापा मारेको छ ।
हेटौडाबाट आएको टोलीले भरतपुर कोरोना अस्थायी अस्पताल, भरतपुर महानगरपालिकाको आवश्यक कागज पत्र नियन्त्रणमा लिएको हो । छापा मारेको सम्वन्धी चितवन समाचार डटकमलाई जानकारी दिदै अख्तियार दुरुपायोग अनुसन्धान कार्यालय हेटौडाका सूचना अधिकारी शिवराज रेग्मीले भन्नु भयो ‘अस्पताल संग सम्वन्धीत समाचार मिडियामा आएपछि त्यसलाई उजुरीको रुपमा दर्ता गरेर आवश्यक कागजात संकलन गर्न हाम्रो टोली अहिले भरतपुरमा रहेको छ । टोली गएको छ । आवश्यक कागज संकलनको क्रममा रहेको छ । महानगरपालिकाले सञ्चालन गरेको भएपछि त्यहाँका कागज संकलन गर्दैछौ ।
मिडियामा आएको विवरणको आधारमा टोलीले आवश्यक पर्ने स्थानहरु, भरतपुर महानगरपालिका, भरतपुर अस्पताल, कोरोना अस्पताल र अन्य आवश्यक पर्ने ठाउँबाट आवश्यक कागज संकलन हुनेछ । उजुरीसंग सम्वन्धीत कागजपत्र सवै स्थानबाट संकलन हुनेछ । आवश्यक कागजात संकलनपछि अनुसन्धान कार्य अगाडि वढाइने छ ।