प्रहरीबाट गल्ती भयो माफी माग्छौ दोषीलाई कार्बाही गरिन्छ : एसपी गुरुङ

चितवन, १६ वैशाख । पत्रकारलाई प्रहरीले गरेको दुर्ववहारको चौतर्फी बिरोधपछि चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले माफी मागेका छन् ।
पत्रकारमाथि भएको दूव्र्यवहारको विषयमा जानकारी लिन पुगेका नेपाल पत्रकार महासंघ सहित संगठनका नेतृत्वसग प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले गल्ती भएको स्वीकार गर्दै गल्ती सच्याउने बताउनु भयो । समाचार संकलनका लागि आफ्नो परिचय पत्र देखाएर जान पाउने व्यवस्था हुदा पनि सुरक्षाकर्मीले गल्ती गरेकोमा क्षमा माग्नु भएको हो ।
पत्रकारसंगको छलफलमा प्रहरी उपरीक्षक नान्तिराज गुरुङले घटनाको विषयमा माफी माग्दै संलग्न प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाले आगामी दिनमा यस्तो अवस्था आउन नदिइने प्रतिबद्धता जनाउनु भयो ।
प्रहरीले सोमबार विहान भरतपुरको चैबीसकोठीमा समाचार संकलनका लागि पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारी माथि दूव्र्यवहार गर्दै गिरफ्तार गरेको थियो । परिचय पत्र देखाउदा पनि त्यसलाई वास्ता नगरी पक्रेको विरोधमा पत्रकार महासंघसहित प्रमुख जिल्ला अधिकारीलाई भेटर फर्कदै गर्दा अर्का पत्रकारलाई फोटो खिचेको भन्दै केही वेर नियन्त्रणमा लिएको थियो ।
प्रहरीको पटक पटकको घटनाले पत्रकारले निर्धक्कसंग लेख्न नपाएको भन्दै प्रहरीको आलोचना भएको थियो । प्रहरी प्रमुख नान्तीराजले दोषी प्रहरीलाई कार्वाही गरी सो विषय सार्वजनिक गर्ने जानकारी दिएका छन् । प्रहरीले गरेको गल्तीका विषयमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शालिग्राम नेपाल, प्रेस संगठन चितवनका संयोजक प्रकास ज्ञवाली, पत्रकार महासंघका उपाध्यक्ष नारायण अधिकारी, प्रेस संगठनका सहसंयोजक तीर्थ नेपाल, प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाललगायतले प्रहरी ज्यादतीको विरोध जनाउनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट