नयाँदिल्ली, १५ बैसाख । पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै ज्यान गइरहेको अमेरिकामा मृत्युदर केहि कमी आइरहेका बेला छिमेकी देश भारतमा भने कोरोनाबाट ज्यान जानेको संख्या बढ्दै गएको छ ।
लकडाउन र तीब्र स्वास्थ्य परीक्षणका बावजुद पनि भारतमा दिनहुँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८१ पुगेको छ ।
आइतबार मात्र भारतमा कोरोना संक्रमणबाट ५६ जनाले ज्यान गुमाएका छन् । हिजो एकै दिन त्यहाँ एक हजार ६०७ जना नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ८९० पुगेको छ । संक्रमितमध्ये ६ हजार ५२३ जना उपचारपछि निको भएका छन् ।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ । त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ । कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ । गत मार्च २५ देखि शुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।