९ वैशाख, काठमाडौँ । नेपालमा काेराेना संक्रमितकाे संख्या ४२ पुगेकाे छ । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बेलुका एक विज्ञप्ति जारी गर्दै उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएकाे छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।