चितवन समाचार डटकम
चितवन २७ माघ ।
वातावरण मुल्याङकनको न्यूनतम मापदण्ड पनि पूरा नगरी जथाभावी नदी जन्य सामग्री उत्खनन् गरेको भन्दै स्याङदी खोलाको ठेक्कामा रोक लगाइएको छ ।
इच्छाकामना गाउपालिका वडा नं. ७ मा पर्ने भालुमारा स्याङदी खोलामा लागेको ठेक्का कम्पनीले न्यूनतम वातावरण मुल्याङकन पनि पूरा नगरेको भन्दै जिल्ला अनुगमन समन्वय समितिले रोक लगाउन निर्देशन दिएको थियो । ठेक्का कम्पनीले खोलको दायाँवायाँ ठुला खाल्टो गरेर अत्याधिक सामग्री उठाएको अनुगमन समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले जानकारी दिनु भयो ।
‘मापदण्ड विपरित नदी जन्य सामग्री उठाएको भन्ने सूचना आएपछि स्थलगत अध्ययन गर्दा सोही अनुसारको उत्खनन् गरेकाले हाललाई उठाउन स्थगित गरेको छ ’ डल्लाकोटीले भन्नु भयो । नदी जन्य सामग्री उठाउदा मापदण्ड भित्र रहेर मात्र उठाउनु पर्ने हुन्छ त्यसो गरेको पाइएन उहाले भन्नु भयो । डल्लाकोटीका अनुसार खोलामा धरै जेसीभी प्रयोग भएको, तोकेको गहिराइ भन्दा धेरै खनेको, खन्नु पर्ने स्थान भन्दा बाहिर रहेर खनेको जस्ता नियम भन्दा बाहिर रहेकालाई अहिले तत्काल नउठाउन भनेका छौ ।
सूचना पाएपछि जिल्ला समन्वय समितिबाट अधिकारीहरुको टोलीले स्थलगत अध्ययन गरेको थियो । अध्ययनका क्रममा नदीको बिच भागबाट उठाउनु पर्नेमा दायाँवाया गएको, ८ फिट भन्दा गहिरो खनेको, नदीको धार नै परिवर्तन गरेर भोली सम्भाव्य दुर्घटना हुने पाइएको टोलीका एक सदस्यले जानकारी दिनु भयो । स्थलगत अध्ययन गरेर ठुला खाल्टो बनाएको ठाउमा पुर्नको लागि निर्देशन दिएको थियो । समितिले दिएको निर्देशनलाई समेत अटेर गरी सामान्य ग्रावेल हालेर खाल्टो छाडेकाले पुन पुर्न निर्देशन दिएको छ ।
खोलाबाट गिटी,बालुवा, ढुङगा सामग्री उठाउदा वातावरणको असरको बारेमा पालना गर्नु पर्ने नियम ठेकेदारले पालना नगरेको गुनासो आउने गरेको छ । गुनासो आएपनि यसको प्रभावकारी रुपमा अनुगमन तथा रोक्ने काम भने ज्यादै कम हुने गरेको छ । जिल्लाको अनुगमत टोलीले अवस्थाको बारेमा अध्ययन गरेर बन्द गर्न निर्देशन दिएपछि कार्यालयले पत्र काटेर हाललाई स्थगित गराएको इच्छाकामना गाउपालिकाकी प्रमुख गिता गुरुङले जानकारी दिनु भयो ।
समितिले भनेपछि बन्द गरायौ उहाले भन्नु भयो ‘ आफै गएर स्थलगत निरिक्षण गर्दा केही ठाउमा कमजोरी भएको पाइएको छ, त्यसलाई सुधार गरेर लैजान सकिन्छ ।’ त्यस खोला नजिकका स्थानीयले धेरै खन्नु भनेपछि मात्र खनेको भन्ने पाइएको उहाले बताउनु भयो । अध्ययन गरेको प्रतिवेदन बुझाएपछि अहिले लागेको ठेक्काले काम गर्ने नगर्ने टुङगो लाग्ने गुरुङले भन्नु भयो ।
इच्छाकामना गाउपालिकामा अहिले ७ वटा खोलमा ठेक्का स्वीकृति भएर काम थालेको छ । ती सबै ठेक्कामा भएको कामको अवस्थाको बारेमा स्थलगत अनुगमन गरेर मापदण्ड अनुसारनै निर्माण सामग्री उत्खनन गर्न दिइने उहाले बताउनु भयो । खोलमा ठेक्का पाएपछि ती कम्पनीले नदी जन्य सामग्रीको दोहन गर्ने गरेको भन्दै आलोचित हुदै आएको छ ।