अनुप अधिकारी ।
आजभोलि कारोना भाइरसको कारणले संसार नै अस्तव्यस्त भएको छ । विश्वका अति विकसित राष्ट्रदेखि अति गरीब राष्ट्र सबै प्रभावित भएका छन् । कोरोना भाइरसको कारणले २० लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने मृत्यु हुनेहरुको संख्या करीब एक लाख ५० हजार भन्दा धेरै भइसकेको छ ।
आज विज्ञानले यति धेरै सफलता पाएको २१ औं शताब्दीको मेडिकल साइन्सलाई एउटा अदृष्य भाइरसले लाचार बनाइदिएको छ । विश्वको कुनैपनि क्षेत्र प्रभावित नभएको भन्ने छैन, सामाजिक, आर्थिक, राजनैतिक, आध्यात्मिक सबै क्षेत्र उत्तिकै प्रभावित भएको छ । सायदै सम्पूर्ण मानव जातिको लागि यो शताब्दीकै ठुलो संकट र महामारीको परिस्थिति हो भन्दा फरक नपर्ला ।
आज विश्वका दुइ सय १५ राष्ट्रहरु कोरोना भाइरसबाट प्रभावित छन् । अधिकांश राष्ट्रहरु पूर्ण लकडाउनको अवस्थामा छन् र सम्पूर्ण मानिसहरु आºना सबै कामहरु जस्तै, उद्योगधन्दा, जागीर, दैनिक ज्यालादारी, होटल व्यवसाय, यातायात, कृषि छोडेर घरमा बस्न बाध्य छन् । यसले गर्दा मानिसहरुमा भोलि के हुने हो ? यो कहिलेसम्म हो ? यसका समाधानको उपाय के हुन सक्छन् ? यसको समाधानको उपाय खोजी गर्ने को हुन सक्छ ? र अब आउँदा दिनहरु कसरी बिताउने हो भन्ने कुराको अन्यौलतासंगै थुप्रै प्रश्न चिन्हहरु खडा गरेको छ । त्यसैले आज कोरोना भाइरसले उब्जाएको प्रश्न चिन्हलाई समीक्षा गर्दै हाम्रा अगाडिको मार्ग दर्शनलाई कोनुपर्ने छ ।
१. लक डाउन कहिलेसम्म ?
आज विश्व नै लकडाउनको अवस्थामा छ । वास्तबमा कोरोना भाइरसबाट बच्नको लागि र संक्रमण फैलिन नदिनको लागि लक डाउन एउटा उत्तम उपायको रुपमा देखिएको छ । जुन हुनु पनि पर्छ । तर अब आममानिसहरुमा यो लकडाउन कहिलेसम्म भन्ने प्रश्न बारबार आउन थालेको छ ।
हाम्रो जस्तो अविकसित देश जोसंग कोरोना भाइरससंग लड्ने स्रोत र साधन अत्यन्तै न्युन छ, जहाँ यति महामारी फैलिएको खण्डमा विनास बाहेक केही पनि हुँदैन र हाम्रो जस्तो देशहरुमा लक डाउन एउटा उत्तम उपाय हुन सक्छ । तर कहिलेसम्म ? लक डाउनको कारणले विश्वको अर्थतन्त्र नै धरासायी अवस्थामा पुगेको छ । धेरैजसो उद्योग धन्दाहरु बन्द भएका छन्, रोजगारी गुमेको छ, दीर्घकालिन रोगका रोगीहरुले उपचार प्राप्त गर्न सकेका छैनन् । दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरुको रोजीरोटी नै गुमेको छ । कृषि उत्पादन अस्तव्यस्त छ जसले गर्दा ठुलो खाद्यान्न संकट पर्ने निश्चित छ ।
यी सबै कुराहरुबाट नेपाल पनि अछुतो छैन । अति नै विपन्न राष्ट्र र कमजोर अर्थतन्त्र भएको हाम्रो देश नेपालमा यसले मझौला खालको उद्योग व्यवसायीहरुलाई ठुलो क्षति पुगेको छ । अधिकांश मझौला खालका र घरेलु उद्योग गर्ने नेपालको मध्यम वर्ग पर्दछन । अहिलेको अवस्थामा न त उनीहरु बाँड्न सक्छन् न त बजारमा गएर बेच्न नै सक्छन् । न राज्यले यस्ता व्यवसायीहरुलाई कुनै नीति तथा कार्यक्रम नै घोषणा गरेको अवस्था छ । जसले दिन प्रतिदिन यस्ता व्यवसायहरु बन्द हुने निश्चित छ र यसले नेपालमा मध्यम वर्गमा ठुलो विचलन आउने पक्का पक्की छ ।
२. सामाजिक दुरी
विशेष गरेर पूर्वीय दर्शनबाट प्रभावित हामी नेपालीहरुमा हाम्रो आºनै किसिमका रीतिरिवाज, चालचलन रहेका छन् । हाम्रा हरेक चाडपर्व, मेला, उत्सव, सामाजिक क्रियाकलाप, विवाह, व्रतबन्ध, काजकिरिया, हरेक क्षेत्रमा हाम्रा इष्टमित्र, दाजुभाई, छरछिमेक भेला भई सम्पन्न गर्ने प्रचलन परापूर्वकालदेखि नै चल्दै आएको छ र यसको निरन्तरता अहिलेसम्म पनि छ ।
आज सामाजिक दुरी कोरोना भाइरसको संक्रमणबाट बच्न अर्को उपायको रुपमा मानिसहरुले अवलम्बन गरीरहेका छन् भने अब यो सामाजिक दुरी कहिलेसम्म, के अब हाम्रा चाडबाड, काजकिरिया, मलामी, जन्ती, विवाह, व्रतबन्ध यो सामाजिक दुरीले रोक्नुपर्ने हो ? कि नरोक्दा पनि हुन्छ ? नरोक्ने हो भने कसरी सम्पन्न गर्ने ? आज दुई जना पनि संगै हिंड्न नपाउने अवस्थामा यस्ता क्रियाकलाप कसरी सम्पन्न गर्ने र यो कहिलेसम्म हुने भन्ने अर्को प्रश्न चिन्ह आम मानिसहरुमा उब्जिएको छ ।
३. विदेशी तथा प्रवासी नेपालीलाई हेर्ने दृष्टिकोण
विदेशी तथा गोरो छाला देख्ने बित्तिकै खुसी हुने , उसंग जानीनजानी पनि बोल्न खोज्ने , केही सहयोग गरिहाल्छ कि भनेर आफुलाई दुःख छ भनेर भन्ने र सकेसम्म त्यो विदेशीलाई कुनै न कुनै समस्या देखाएर आºनो स्वार्थ पूरा गर्न चाहने हाम्रो समाज आज विदेशी देख्ने बित्तिकै घृणा गर्ने, अपहेलना गर्ने, यसलाई कोरोना त छैन यसको नजिक जानु हुँदैन अब त यिनिहरुसंग संगत गर्नु हुँदैन, कोरोना भाइरस लाग्छ भन्ने जस्ता कुराहरु आम नेपालीमा पर्न गएको छ ।
त्यसैगरी, कामको सिलसिलामा विभिन्न मुलुकहरुमा गएका प्रवासी नेपाली र उनीहरुको परिवारलाई पनि शंकाको दृष्टिकोणले हेर्ने र कोही विदेशबाट फर्केर आएका छन् भने उसलाई पनि कोरोना भाइरस छ भनेर विभेद गर्ने , लाञ्छना लगाउने, सामान्य रुघाखोकी लागेको छ भने पनि सामाजिक सञ्जालमार्फत त्यस्ता व्यक्ति तथा परिवारलाई कलंकित गर्ने जस्ता कामहरु अहिले हाम्रो समाजमा देख्न, सुन्न र हेर्न पाइन्छ । जुन एउटा ठुलो समस्याको रुपमा फैलिदै जाने कुरा हामीले नकार्न सक्दैनौं ।
४.कोरोनाभाइरस र मानसिक समस्या
विश्व स्वास्थ्य संगठनको अनुसार, विश्वमा ४५ लाखभन्दा बढी मानिसहरु कुनै न कुनै मानसिक समस्याबाट ग्रस्त छन् र तीमध्ये ७० प्रतिशत भन्दा बढी मानसिक समस्या भएका मानिसहरु अविकसित तथा अर्धविकसित देशहरुमा पर्दछन् । र ५ जनामानसिक समस्या भएकामध्ये एक जना मानसिक समस्या भएको व्यक्तिले मात्र उपर्युक्त उपचार पाएको अवस्था छ भने विश्वमा प्रत्येक ४ सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गर्दछन् ।
यस्तो अवस्थामा आज कोरोना भाइरसले जुन महामारीको रुप ल्यायो, त्यसले मानसिक समस्या बढ्दै जाने कुरालाई हामीले नकार्न सक्दैनौं । विश्वमा सबै क्षेत्र कृषि, उद्योग, कलकारखाना, रोजगार, पर्यटन, दैनिक ज्यालादारी, उत्पादन सबै ठप्प छन् र मानिसहरु लकडाउनको अवस्थामा केवल घर भित्रमात्र सीमित छन् । कोरोनाको समाचार सुनेर त्रसित र भयभित छन् जसले गर्दा भविष्यमा विश्वमा नै मानसिक समस्याको बिरामी बढ्ने र हरेक क्षेत्र मामानसिक समस्याले प्रभाव पार्न सक्ने अर्को प्रश्न चिन्ह खडा भएको छ । र विशेषगरी नेपाल जस्तो अर्थतन्त्र भएको देशमा त झनै मानसिक समस्या बढ्ने निश्चित नै छ
५. भविष्यको रणनिति
आममानिसमा कोरोना भाइरसबाट बच्नको लागि लकडाउन नै हो त ? सामाजिक दुरी नै हो त ? नमस्कार गर्नु र हात बारम्बार साबुन पानीले धुनु, मास्क लगाएर हिंड्नु केवल यी नै हुन् त कोरोनाभाइरसबाट बच्ने उपाय ? त्यस्तो भए के यो सधैं सम्भव छ ? र कहिलेसम्म गर्ने ?
भन्ने जस्ता प्रश्न चिन्हहरु मानिसहरुबाट निस्कन थालेका छन् । तथापी, जबसम्म कोरोना भाइरसको भ्याक्सिन निस्कदैन, तबसम्म यस्तै हो भन्ने कुरा पनि आम मानिसहरुमा पर्न थालिसकेको छ । यदि भ्याक्सिन नै पत्तालागेन र लामो समय लाग्न सक्ने भयो भने जीवन यत्तिकै चल्छ त ? यस्ता तर्क वितर्कले आज आम मानिसको दिनचर्या बितेको छ । तर यस्तै तर्क वितर्कले जीवनचल्दैन, देशको अर्थतन्त्र चल्दैन, सामाजिक जीवन, रोजगार, उद्योगधन्दा चल्दैन ।
त्यसैले अब भविष्यको रणनीति कस्तो हुनु पर्दछ भन्ने कुराको प्रश्न चिन्ह हाम्रो अगाडि छ । वर्तमान अवस्थालाई हेरेर राज्यले कस्तो रणनीति अपनाउनु पर्छ , अर्थतन्त्रलाई उकास्न कस्तो किसिमको कार्यक्रम तथा योजना तर्जुमा गर्नु पर्दछ र त्यसलाई कार्यान्वयन कसरी गर्नुपर्दछ भन्ने कुरा सम्बन्धित राष्ट्रको अवस्थालाई हेरेर गर्न त गर्लान् तर कसरी गर्ने भन्ने अन्यौलता त अझै पनि विद्यमान नै छ । जुन, आज आममानव जातिलाई नै प्रश्न चिन्हको रुपमा खडा भएको छ ।


