काठमाडौं, ९ बैसाख । इतिहासमै पहिलोपल्ट अमेरिकी तेलको मूल्य शून्यभन्दा पनि तल ऋणात्मक हुने गरी घटेको छ ।
यसको अर्थ तेल उत्पादक कम्पनीले आफ्नो उत्पादन बिक्री गर्न क्रेतालाई उल्टै पैसा दिइरहेको बीबीसीले जनाएको छ । कोरोना भाइरस महामारीका कारण विश्वव्यापी लकडाउनका कारण मानिस घरभित्रै सीमित भएपछि तेलको माग ह्वात्तै घटेकाले तेल उत्पादक कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् ।
जसका कारण अमेरिकी तेलको मूल्यमा नकारात्मक प्रभाव परेको हो। तेल उत्पादकले मे महिनामा आफ्नो भण्डारण क्षमता सकिने डरले तेल लिन खरिदकर्ताहरूलाई भुक्तानी दिइरहेका छन् ।
अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमीडिएटको प्रतिब्यारेल मूल्य माइनस ३७.६३ अमेरिकी डलरमा झरेको छ । सोमबार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका रहेको बीबीसीले जनाएको छ ।
तेलको मूल्य अमेरिकाले ठीक गर्ने राष्ट्रपति ट्रम्पको दावी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चा तेलको मूल्य पहिलो पटक ऋणात्मक भएको मौकामा आफ्नो इन्धन भण्डारणस्थललाई भरेर राख्ने बताएका छन् ।
उनले भनेका छन्, ‘यही मौकामा हामी हाम्रो पेट्रोलियम भण्डार भरेर राख्ने छौं । हामी कूटनीति भण्डार गर्दैछौं । हामी करिब ७.५ करोड ब्यारेल तेल रिजर्भ गरेर राख्न चाहान्छौं ।’
तेलको मूल्यमा ऐतिहासिक गिरावट आउनु धेरैजसोका लागि चासोको विषय भएको भन्दै ट्रम्पले अमेरिकी सरकारले तेलको मूल्य सही बाटोमा ल्याउने दाबी समेत गरेका छन् ।