काठमाडौं, ५ बैसाख । नेपालमा एकै दिन कोरोना (कोभिड–१९) भाइरसका १४ जना संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएकामध्ये १२ जना उदयपुरमा छन् । उनीहरुमध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरुमध्ये पहिलो संक्रमित निको भइसकेका छन् । एकै दिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनु पर्ने देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डे बताउँछन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित हुनेमा उदयपुरका १२ जना पुरुष रहेका छन् भने चितवनमा एक पुरुष र महिला रहेका छन् ।
उदयपुरमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षीय र चितवनमा २७ वर्षका पुरुष र ६३ वर्षीया महिलामा कोरोना भाइरस देखिएको हो ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि उदयपुरका १२ जनाको विराटनगरस्थित कोशी अस्पताल र चितवनका दुई जनाको चितवनमा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि थप परीक्षणका लागि टेकुमा पठाइएको थियो । टेकुमा परीक्षणका क्रममा पनि सबैको पोजेटिभ रिपोर्ट आएपछि मन्त्रालयले उनीहरुका विषयमा जानकारी सार्वजनिक गरेको हो ।