कारोनाबाट ज्याउन गुमाउनको सख्या एकलाख २० हजार नजिक : संक्रमित १९ लाख २३ हजार नाघ्यो

काठमाडौं, २ बैशाख । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या एक लाख २० नजिक पुगेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख १९ हजार पाँच सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोरोनाबाट संक्रमितको संख्या पनि १९ लाख २३ हजार नाघेको छ ।

कोरोनाबाट सबैभन्दा बढी मृत्यु र संक्रमित हुनेमा अमेरिका छ । त्यहाँ २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार नाघेको छ । विश्वभर चार लाख ४३ हजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने करिब ५१ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा इटालीमा २० हजार चार सयभन्दा धेरै छन् भने स्पेनमा १७ हजार सात सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या एक लाख ७० हजार नाघ्दा इटालीमा संक्रमितको संख्या एक लाख ५९ हजार नाघेको छ ।

फ्रान्समा मृतकको संख्या १४ हजार नौं सय नाघेको छ । बेलायतमा ११ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । इरानमा मृतकको संख्या चार हजार पाँच सय नाघ्दा चीनमा यो संख्या तीन हजार ३४१ मा रोकिएको छ ।

जर्मनीमा मृत्यु हुनेको संख्या तीन हजार एक सय नाघ्दा बेल्जियममा तीन हजार नौं सय नाघेको छ । यस्तै नेदरल्याण्डमा कोरोनाबाट ज्यान गुमाउने दुई हजार आठ सय नाघेको छ ।

भारतमा ३५८ जनाको मृत्यु हुँदा १० हजार चार सयभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा एक हजार २४८ जना नयाँ संक्रमित थपिएका छन् ।

मोदीले मंगलबार सम्बोधन गर्ने, लकडाउन दुई साता लम्बाउने
भारतमा कोरोना महामारी रोकथामका लागि जारी लकडाउन फेरि लम्बिने भएको छ ।
मंगलबार बिहान स्थानीय समय अनुसार १० बजे प्रधानमन्त्री मोदीले विशेष सम्बोधन गर्दै लकडाउन लम्ब्याउने जनाइएको छ ।

दिल्लीका मुख्यमन्त्रीलगायत सरकार सम्बद्ध अधिकारीहरुले भारतीय मिडियालाई यसबारे जानकारी दिइसकेका छन् । भारतीय मिडियाका अनुसार मोदी सरकारले अप्रिल ३० सम्मका लागि लकडाउन थप्ने निर्णय गरेको छ ।

यसैबारे मंगलबार मोदीले सम्बोधनको क्रममा घोषणा गर्ने बताइएको छ । प्रधानमन्त्री मोदीले यसअघि भारतीय जनतालाई कोरोनाविरुद्ध दीप प्रज्वलन गर्न आह्वान गरेका थिए ।

बेलायती प्रधानमन्त्री जोनसनले जिते कोरोनाको संक्रमण
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना संक्रमणलाई जितेका छन् । उनको पछिल्लो परीक्षण नेगेटिभ आएको सरकारी प्रवक्ताले जानकारी दिएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री जोनसन अहिले आफ्नै घरमा आराम गरिरहेका छन् । सरकारी कार्यालय डाउनिङ स्ट्रिटको तुलनामा सुरक्षित भएको भन्दै उनलाई चेकर्स लगिएको खबरमा जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि अघिल्लो सोमबार चैत २४ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसन डिस्जार्च भएपछि चेकर्स लगिएको हो । बेलायतमा ८८ हजार ६२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।

शेयर गरौ

ताजा अपडेट