भारतबाट आएका हुम्ली मान्दैनन् क्वारेनटाइनमा बस्न

हुम्ला, २३ चैत । हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सात गाउँपालिकाका ४४ वडामा बनेका क्वारेन्टाइनस्थल अधिकांशमा आधारभूत सुविधा समेत नभएपछि अधिकांशले बस्न मानेका छैनन् ।

सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेनटाइनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ । सर्केगाडले केही दिन अगाडिदेखि महिनाको रु ३० हजार तिर्ने गरेर एक घर नै भाडामा लगेर १६ शैंयाको क्वारेनटाइन बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताए । भारतबाट मजदूरी गरेर फिर्ता भएकाहरु कोही पनि बस्न नमानेको अधिकृत शाहीले बताए ।

ताजाँकोट गाउँपालिकाले वडा नम्बर ४ को गोठेलबाडा, बाजुरा र हुम्लाको सीमा कबाडी, छेप्रेलास्थित धर्मोदय र वडा नम्बर ३ को नाउलीमा क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष बाग्दल मल्लले बताए । जिल्लामा १४१ क्वारेन्टाइनमध्ये ५० सिमकोटमा छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका रामप्रसाद घर्ती मगरका अनुसार जिल्ला बाहिरबाट आएका र विदेशबाट आएकाहरु आ–आफ्नै घरमा बस्दै आएका कारण सात वटै गाउँपालिकामा तयार गरिएका क्वारेनटाइन खाली छन् ।

जिल्ला बाहिर काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायत शहर र भारतबाट हुम्ला फर्किएका ८६१ जना हुम्ला प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन गाउँपालिकाका क्वारेनटाइन प्रयोगमा
सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकामा तयार भएका क्वारेनटाइन प्रयोगमा आएका छन भने अन्य पालिकामा रहेका क्वारेनटाइन खाली छन् ।

जिल्ला बाहिरबाट आएकाहरू गाउँमा तयार पारिएको क्वारेन्टाइनमा बस्न नमान्दा अधिकांश क्वारेन्टाइनस्थल रित्तै छन् । सिमकोटमा निर्माण गरिएका ५० शैंयाको क्वारेन्टाइनमा हालसम्म ३० तथा तल्लो बजारमा रहेको जिल्ला अस्पताल नजीक चर्चमा नौ जना बसेका छन् । तीन गाउँपालिकामा अहिलेसम्म ७२ जनालाई क्वारेनटइनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई गाउँपालिका स्वास्थ्य सामग्री खरीद गर्दै
कोरोना संक्रमणविरूद्धको लडाईंका लागि सिमकोट र खार्पुनाथ गाउँपालिकाले स्वास्थ्य उपकरण र औषधि खरीद गर्न लागेका छन् । सिमकोटले रु १० लाख मूल्य बराबरको स्वास्थ्य उपकरण र औषधि खरीद गरिसकेको छ ।

सम्भावित संक्रमणबाट जोगिन र गाउँपालिकामा स्थापना भएका हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा रहेका व्यक्तिलाई जाँच गर्न तथा कोरोनाविरुद्ध खटिएका पालिकाका स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भन्नाका लागि आवश्यक उपकरण र चाहिने औषधि खरीद गरिएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए ।

पालिकाले ३० थान पिपिई, १६ थान थर्मोगन, दुई हजार पाँच सय थान सर्जिकल मास्क, एक हजार थान सर्जिकल ग्लोब्स, साठी पोका लुज ग्लोभ्स, एक सय थान एन नाइन्टिन मास्क र २५० थान सेनिटाइजरसहित अन्य आवश्यक औषधि खरीद गरेको सिमकोटका अध्यक्ष पदमबहादुर लामाले बताए ।

यस्तै खार्पुनाथ गाउँपालिकाले पनि कोरोना संक्रमणका लागि जाँच गर्ने आवश्यक उपकरण् आफै खरीद गरेको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए ।

मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक
यता मनाङ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।

उनका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जेन्टिना, जर्मन, इजरायल लगायतका युरोपियन देशका रहेका छन् । माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ ।

आफ्नो देशमा भन्दा कोभिड–१९को जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ । नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्क समेत निकाल्न नसकिएको र सम्पर्क समेत हुन सकेको छैन ।

तिलिचो वेसक्याम्पतिर कति विदेशी नागरिक रहेका छन् भन्ने एकिन नभएको प्रजिअ पौडेलले बताए । ‘विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताउनु हुन्छ, त्यसैले हामी स्वदेश फर्किदैनौं, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौं भन्ने गर्नुहुन्छ,’ उनले भने । सो भाइरसको जोखिम नेपालमा कम रहेको र यहाँ सङ्क्रमण फैलिन समेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ । ‘हामी नेपालमा सुरक्षित छौं’, उनले भने ।

शेयर गरौ

ताजा अपडेट