लकडाउनको १३ औं दिन : किन हिड्नु मास्क हल्लाउँदै लखर लखर ?

लकडाउनको १३ औं दिन ।
सवैभन्दा पहिलो यो तस्बिरको कुरा गरौं । चैत्र १७ मा खिचेको यो तस्बिरमा एकजना युवक मास्क हातमा हल्लाउँदै निस्फिक्री बजार डुल्दै छन् । उनको समूहमा तीनजना थिए । सवै यही बिन्दास मुडमा थिए ।
१) चैत्र ११ गते बिहान ६ बजेबाट सुरु भएको लकडाउन जारी नै छ । तर पालना कस्तो गरी भएको छ भनेर बुझ्न यो तस्बिर काफी छ । यो एकाध घटना मात्रै हैन लकडाउनका बेला देखिने आम प्रवृत्ति नै हो ।
२) कोभिड–१९ कोरोना भाइरस विश्व व्यापी महामारी बनेको छ र नेपालमा पनि यसका बिरामी बढ्दैछन् । सरकारले यो महामारी देशभित्र तिब्ररुपमा फैलन नसकोस भनेर लकडाउन घोषणा गरेको हो । तर जुन उद्देश्यबाट यो घोषणा भयो त्यसलाई सर्वसाधरणले अपनाउन सकेनन् ।
३) लकडाउनले आर्थिक गतिविध ठप्प पारेको छ । तर हाम्रो जुन खालका शैली छ त्यसले भाइरसको फैलावटलाई रोक्ला भनेर विश्वास गर्न सकिन्न । किन कि लकडाउन भनेको घाम चर्केपछि मात्रै घरभित्र बस्ने हो भन्ने मान्यता बन्यो ।
४) लकडाउनका बेला घरभित्रै बस्ने हो । र घरभित्र अन्यलाई पस्न नदिने हो । ति निकै निकटका महानुभावहरु किन नहुन तर उनीहरुका लागि पनि यो बेला ढोका बन्द भन्ने हो । हामी त हात समाएर मर्निङवाक र शित्तल खानमा मग्न छौं । टिम बनाएर क्रिकेट, ब्याटमिन्टन हान्नमा बिजी छौं ।
५) अत्यावश्यक परेमा घर बाहिर निस्कदै ननिस्कने भन्ने हैन । तर सुरक्षाका प्रवन्धहरु अपनाउन अपिरिहार्य छ । तर यसको केही मतलब राखेका छैनौं । अत्यावश्यक परेर बाहिर निस्कदा सुरक्षाका सवै उपाएहरु अपनाए पनि संक्रमणको खतरा कायमै रहन्छ । यो तथ्य कस्लाई मतलब । मास्क हल्लाउँदै लखर लखर गर्न पाए भयो ।
६) अत्यावश्यक बस्नु किनमेलमा कुनै सुरक्षा सावधानी छैन । किराना पसल एक प्याकेट गुट्खा र एक खिल्ली चुरोट माग्न आउनेले हैरान पार्दछन् । समान समाउँदा, जोख्दा र झोलामा राख्दासम्म सुरक्षा प्रवन्ध हुनु पर्ने हो । तर यी त परकाे कुरा पसलमा व्यक्ति व्यक्तिबीचको दुरीसमेत कायम छैन ।
७) समाजमा अहिले जस्ले कोरोना भाइरसको बास्तविक चरित्र ख्याल राखेर सावधान रहनु पर्ने र त्यही अनुसारको सुरक्षा प्रवन्ध अपनाउनु पर्दछ भन्ने कुरा गर्दछ, आफुले पनि अपनाएको छ, त्यस्ता व्यक्तीहरु अल्पमतमा छन् । त्यस्तालाई अनावश्यक गफ हाँक्ने, डराएर नचाहिँदो कुरा गर्ने भन्नेसम्मको अपगाल आउने अवस्था छ ।
८) लकडाउनले आर्थिक गतिविधि ठप्प हुँदा दैनिक काम गरेर खानेहरु निकै मर्कामा छन् । मागेर खानेहरुको बेहाल छ । यसलाई कसरी सम्बोधन गर्ने हो भन्ने व्यवस्थित योजनाभन्दा पोका बाँडेर फेसबुकमा फोटा हाल्ने होडबाजी छ । कमजोर वर्गका आफ्नै समस्या छन् । उनीहरुलाई भाइरसभन्दा भोकको त्रास ठुलो छ ।
९) डेरामा बस्ने एकजना ज्याला मजदुरी गर्नेले सुनाउँदै थिए ‘घर साहुले डेरा भाडा माग्न आयो । अहिले पैसा छैन काम पाइदैन भनेको चोरेर भए पनि पैसा ल्याएर भाडा तिर भन्ने बचन लगाए’ रे । यस्ता प्रवृत्तिले घातक परिणाम ल्याउँछ ।
१०) कोभिड–१९ महामारी आउला नआउला आएमा जे जसरी हो लडौंला, यसको बारेमा थोरै धेरै चर्चा र तयारी त छ नि । तर यो बेला बिर्सेको कुरा कृषि क्षेत्रलाई कसरी जोगाउने भन्ने हो । मल खाद र बिउ मात्रै हैन कामदारसमेत नपाउने दिन आउन सक्छ । त्यसैले यता तर्फ बेलैमा सोचौं ।
११) कोभिड–१९ महामारी आए नि नआए नि अब व्यपार र उद्योग क्षेत्र धारासायी हुने खतरा छ । वित्तीय निकाय जोखिममा छन् । यसलाई कसरी व्यवस्थपन गर्ने हो ?
१२) अब विदेशका नेपालीलाई ढिलो चाँडो देश फर्काउनु पर्दछ । यसको तयारीमा वडा तहदेखि संघीय सरकार जुट्न अबेला भए भोलि ठुलो अस्तव्यस्त अवस्था आउने डर छ ।
१३) सानो कमजोरीले पनि भोलि रोगभन्दा ठुलो गञ्जागोल ल्याउने खतरालाई नजरअन्दाज नगरौं । साच्चै विश्व, देश र हाम्रो समाज गम्भीर संकटमा छ । त्यही अनुसारको सोचाइ विकास गरौं, जय नेपाल, धन्यवाद ।
( पत्रकार रमेशकुमार पाैडेलकाे फेसवुक स्टाटसबाट )

शेयर गरौ

ताजा अपडेट