रत्ननगर, २६ माघ :
गैँडामाथि बसेर फोटो खिच्नेलाई चितवन राष्ट्रिय निकुञ्जले सचेत गराएर छाडेको छ । रत्ननगर नगरपालिका–६ स्थित सौरहाका १४ वर्षीय अनुप महतोलाई शुक्रबार सचेत गरी तारिखमा छाडिएको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो । महतोको साथीले गैँडामाथि चढेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि निकुञ्जले खोजी गरी पक्राउ गरेको हो ।
गत सालको बाढीले बगाएर घाइते भएको सो गैँडालाई निकुञ्जले उद्धार गरी सौराहा क्षेत्रमा ल्याएर छोडेको घिमिरेले बताउनुभयो । सो गैँडा सौराहा क्षेत्रको गाउँमा लामो समयदेखि आउने गरेकाले मानिससँग घुलमिल हुने गरेको थियो । गैँडालाई नै देखाएर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने क्षेत्रमा यस्तो गतिविधि हुनु दुःखद् भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले बताउनुभयो । (रासस)