चितवन समाचारडटकम, १९ चैत ।
जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले तय गरेको मापदण्ड अनुसार बनेको चितवन जिल्ला सल्लाहकार समुहको आज बसेको बैठकले निजी अस्पताललाई उपचार सेवा नियमित गर्न आग्रह गरेको छ ।
सर्वसाधरणवाट पछिल्लोपटक निजी अस्पतालवाट सेवा पाउन कठिन भैरहेको गुनासो बढीरहेको सन्दर्भमा बैठकले नियमित स्वाथ्य प्रवाहको काम नरोक्न आग्रह गर्दै स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको हो । नेपाल सरकारले स्वास्थ्य सेवामा अनियमितता भए कार्वाही गर्ने यसअघि नै चेतावनी दिइसकेको छ ।
बैठकले सबैप्रकारका स्वास्थ्य उपकरण उपलब्ध गराएर भरतपुर अस्पताललाई कोरोना उउपचार हुन सक्ने अस्पतालको रुपमा सुचिकृत गर्न सरकारसंग माग गर्ने निर्णय पनि गरेको छ ।
बैठकले क्वारेन्टाईन ब्यबस्थापन र राहत बितरणको तयारीमा कुनै कमी हुन नदिन अझ प्रभावकारी रुपमा लाग्न स्थानिय तहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले जनताको जनधनको सुरक्षा, महंगी र कालाबजारी नियन्त्रणमा बिशेष पहलकदमी लिन स्थानिय प्रशासनलाई आग्रह गरेको छ ।
यसैगरी बैठकले सल्लाहकार समुहको संयोजकको जिम्मेवारी प्रतिनिधी सभा सदस्य कृष्णभक्त पोखरेल र सहसंयोजकको जिम्मेवारी प्रदेशसभा सदस्य घनश्याम दाहाललाई दिने निर्णय गरेको छ ।
बैठकमा साँसद पोखरेल, उमा रेग्मी , भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रदेश सभा सदस्यहरु दाहाल, कृष्णप्रसाद खनाल कृष्णप्रसाद भुर्तेल, कन्चन खनाल, पार्वती सिलवाल, गीता वाग्ले, मिलनबाबु श्रेष्ठ, जिसस प्रमुख कृष्णकुमार डल्लाकोटी, नेकपा चितवनका अध्यक्ष यमवहादुर परियार,काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई , रत्ननगर मेयर नारायण वन, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी लगायत उपस्थित रहनुभएको थियो ।


