काठमाडौं, १६ । चैत कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ।
आइतबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले लकडाउन थप्न मन्त्रिपरषद्मा सिफारिस गरेको हो। तर, यसको अवधि कति हो ? यसको निर्णय भने मन्त्रीपरिषद्ले गर्नेछ ।
आजै अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारेमा निर्णय लिनेछ। कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको अवस्थामा समितिले यस्तो निर्णय लिएको हो।
सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो ।लकडाउनका क्रममा अत्यावश्यक बाहेकका सबै सेवा र गाडी तथा हवाई यातायात पनि ठप्पन पार्ने निर्णय गरेको थियो।
यसैगरी अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।


