माडी, २६ माघ :
माडीमा पर्यटकलाई आकर्षण गर्न र उनीहरुको बसाइँ लम्ब्याउन थप तीन ठाँउमा घरबास (होमस्टे) को व्यवस्था गरिने भएको छ ।
अहिले शिवद्धारमा मात्रै मगर समुदायले घरबास सञ्चालन गरिरहेका छन् । अन्य तीन ठाउँमा घरबास निर्माणको तयारी भइरहेको नगरप्रमुख ढकालले जानकारी दिनुभयो । माडी नगरपालिका–१ वनकट्टामा बोटे समुदायको संस्कृति झल्किने गरी घरबास निर्माणका लागि बजेट विनियोजन भएको छ । नगरपालिकाबाट रु ५० लाख र तराईमधेस समृृद्ध कार्यक्रममार्फत रु २५ लाख रकम बोटे घरबास निर्माणका लागि विनियोजन भएको उहाँले बताउनुभयो । सोही घरबासका लागि विदेशी संस्थाले पनि सहयोग गर्ने उहाँको भनाइ छ ।
यस्तै नगरपालिकाको वडा नं ३ बघौडामा थारू घरबास र वडा नं ९ मा राई घरबास निर्माण गरिने भएको छ । शिवद्धारमा रहेका ११ घरबासको क्षमता विस्तार गर्दै २० बनाउने तयारीसमेत नगरपालिकाले गरेको छ । माडीको पाण्डवनगरमा छ बिघा जग्गा किनेर विदेशी लगानीकर्ताले रिसोर्ट निर्माणको समेत तयारी गरिरहेको नगरप्रमुख ढकालले बताउनुभयो । (रासस)