चितवन समाचार डटकम,
११ चैत । चितवन जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल तथा स्वास्थ्यकर्मीले राज्यले घोषणा गरेको लकडाउन कार्यन्वयन गर्न भिडियो सन्देश मार्फत सर्वसाधारणलाई अपिल गरेका छन् ।
मंगलबारदेखि १८ गतेसम्म कोरोना संक्रमणबाट जोगिन घरमानै बस्न अनुरोध गर्दै नेपाल सरकारले बाहिर निस्कन रोक लगाएको छ । यसै व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सर्वसाधारणलाई चितवन जिल्लाका राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रमुखहरुले भिडियो सन्देश सार्वजनिक गर्दै नियम पालना गर्न अनुरोध गर्नु भएको हो ।
मंगलबार विहानैदेखि नियम लागु भएपनि चोक चौतारा, सडकमा मानिसहरुको चहलपहल भइराखेकाले आफ्नो र अरुको स्वास्थ्यको सुरक्षा गर्न घरमानै बसी स्वस्थ्य व्यवहार लागु गर्न सरोकारवालाले सन्देश मार्फत अनुरोध गर्नु भएको छ ।
कानुन न्याय तथा मानवअधिकार समितिका सभापति तथा चितवन जिल्लाका प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले सरकारले तोकेको मितिसम्म संयम भएर घर भित्रै बसिदिन अपिल गर्नु भएको छ । राष्ट्रिय संकटको समयमा राज्यले लगाएको नियमलाई अनुशासित भएर पालना गर्नु पर्नेमा जोड दिनु भयो । घर भित्रै बसेर स्वस्थ्य व्यवहारबाटै कोरोना भाइरसबाट बच्न सकिन्छ, सामाजिक सञ्जाल मार्फत भिडियो सन्देशमा भन्नु भयो ।
त्यस्तै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भिडियो सन्देश मार्फत राज्यले घोषणा गरेको लकडाउन पालना गर्नुको बिकल्प नरहेको बताउनु भयो । जीवन रहे भोली संसार देखिने भएकाले धर्यताका साथ सुरक्षित भएर घरमा नै रहन अनुरोध गर्नु भयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफ्नो सन्देशमा महानगरवासीलाई राज्यले गरेको घोषणा पालना गरेर घरमा नै बस्न अपिल गर्नु भएको छ । कोरोना रोगबाट लड्ने प्रमुख उपाय भनेकै स्वस्थ्य व्यवहार र घर भित्रै वसेर गर्न सकिने भएकाले धेरै जनाको सम्पर्कमा नजान अनुरोध गर्नु भयो ।
नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारले रोगको कारण देशनै संकटमा परेको वेला सरकारले लगाएको नियम पालना नै जनताको कल्याण हुने भएकाले लकडाउनलाई पालना गर्न अनुरोध गर्नु भयो । आफू र अरुलाई स्वस्थ्य राख्न स्वस्थ्य व्यवहार घरमानै वासोबास गर्नु पर्ने उहाले भन्नु भयो ।
त्यस्तै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले अहिलेको संकट समाधान गर्ने एउटै उपाय घरमा नै बसेर रोगसंग लड्न सकिने बताउनु भयो । लकडाउन व्यवहारमा कार्यान्वयन भएमा आफू र अरुलाई बचाउन सकिने सन्देश दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सरकारले आव्हान गरेको लकडाउन नियम कार्यन्वयन गर्न सबै जिल्लावासीलाई अनुरोध गर्नु भयो । आत्यवश्यक सामान उपचारको लागि व्यवस्था गर्न सकिने भएकाले अनुशासनलाई पालना गरेर घर भित्रै बसेमा मात्र विपत्तीलाई सामना गर्न सकिने बताउनु बताउनु भयो ।
वीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डाक्टर विजयचन्द्र आचार्यले सामाजिक दुरी बढाएर बस्नु नै रोगबाट बच्न सकिने भएकाले नियम पालना गर्न अनुरोध गर्नु भयो । साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, अत्यावश्यक भएमा मात्र अस्पताल जान अनुरोध गर्नु भयो । क्यान्सर रोग लागेर उपचार गराइरहनु भएका विरामीले अझ आफ्नो व्यवहारमा ध्यान दिन उहाले अनुरोध गर्नु भयो ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नगरवासीलाई घरबाहिर ननिस्कन अपिल गर्नु भएको छ । राज्यले विहानदेखि नै लकडाउन गरेपनि केही व्यक्तिहरु घरबाहिर चोक चौतारामा वस्ने, चिया पसलमा बसेर गफिने गर्न थालेपछि उहाले घर भित्रै बसेर रोगसंग लड्न सकिने भएकाले नियम पालना गर्न अनुरोध गर्नु भयो । कोरोना आफै घरमा आउदैन बाहिर निस्केर आफैले ल्याउने हो उहाले भन्नु भयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङले सरकारले लगाएको नियम पालना गरेर घर भित्रै वस्न जिल्लावासीलाई अनुरोध गर्नु भएको छ । अत्याबश्यक काम परेमा परिचय पत्र देखाएर मात्र हिड्न अनुरोध गर्नु भयो ।


