चितवन, १० चैत । कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि चितवनका सातवटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् ।
एक महानगर, पाँचवटा नगरपालिका र एक गाउँपालिका रहेको चितवनमा कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको कामलाई स्थानीय तहले सक्रियता देखाएका हुन् । जिल्लाको सदरमुकाम रहेको भरतपुर महानगरपालिकाले यहाँको प्रदर्शनी केन्द्रमा ५० शैयाको अलगै कोरोना अस्पताल स्थापना गरी काम अगाडि बढाएको छ ।
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भरतपुरको सरकारी, निजी र मेडिकल कलेजमा ज्वरोका विरामी मात्रै जाँच गर्नको लागि अलगै व्यवस्था गरिएको छ । यो संगै कोरोनाको लागि अलगै अस्पताल निर्माण गरेर सोमबार भित्रमा त्यहाँ आइसियुको व्यवस्था गरिसक्ने गरी काम अगाडि वढाएको छ ।
भरतपुर अस्पतालमा आइसोलेसन वार्ड, दुइवटा मेडिकल कलेजमा विशेष जेक जाँच र आइसोलेसनको व्यवस्था, त्यस्तै गरी निजी अन्य अस्पतालहरुमा ज्वरोका विरामीलाई जाँच गर्ने, आइसोलेसनमा राख्नु पर्ने भएमा त्यही राख्नु पर्ने, थप शंका लागेमा मात्र कोरोना अस्पतालमा रिफर गर्नु पर्ने गरी व्यवस्था मिलाएको प्रमुख दाहालले जानकारी दिनु भयो ।
महानगरपालिका भित्र स्वास्थ्य सचेतनाको लागि काम गरेका छौ उहाले भन्नु भयो मानिसको भिड हुने स्थानहरु बन्द गराएका छौ । अन्य स्थानमा सचेतना जगाउने र स्वस्थ्य व्यवहार गर्नको लागि व्यवस्था गरिएको छ ।
रत्ननगर नगरपालिका
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यहाँको गुञ्जमान अस्पतालमा २० शैयाको आइसोलेसनको व्यवस्था गरिएको छ । त्यस्तै गरी रत्ननगर अस्पतालमा तीन शैयाको आइसोलेसनको व्यवस्था गरिएको छ । नगरपालिकाको हरेक वडामा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । भिड हुने स्थानहरु बन्द गराइएको छ । शंकास्पद लागेका व्यक्तिलाई स्वास्थ्य चेक जाँच गराउनको लागि हेल्थ डेस्क स्थापना गरिएको छ ।
राप्ती नगरपालिका
नगर प्रमुख प्रभा वरालका अनुसार भण्डारा अस्पतालमा तीन वेडको आइसोलेसनको व्यवस्था गर्ने गरी तयारी भएको छ । ठुला अस्पताल नभएको र मानिसको भिड कम हुने भएकाले यहाँ अलगै राखिने गरी व्यवस्था नभएको जानकारी दिनु भयो । नगरवासीलाई स्वस्थ्य व्यवहार गर्नको लागि सचेतना जगाइएको बताउनु भयो ।
कालिका नगरपालिका
कालिका नगरपालिका ६ का वडा अध्यक्ष विनोद रेग्मीका अनुसार जुटपानी प्राथमिक स्थास्थ्य केन्द्रमा आइसोलेसनको व्यवस्था गर्नको लागि तयारी अवस्थामा रहेको छ । नगरपालिकाको वडा कार्यलयहरुमा अत्यावश्यक काम बाहेक अन्य सेवा वन्द गरिएको बताउनु भयो ।
माडी नगरपालिका
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार भारतसंग सिमा जोडिएको ठोरी नाकाबाट नेपाल भित्रन रोक लगाइएको छ । नेपाली नागरिक भए उनीहरुलाई सुरक्षित तरिकाले ल्याएर विद्यालयको अलगै कोठामा राख्ने तयारी गरिएको छ । सवारी साधनलाई भने ठोरी माडी चल्नमा रोक लगाइएको छ ।
खैरहनी नगरपालिका
नगर प्रमुख लालमणि चौधरीले कोरोना भाइरस संक्रमण रोक्नको लागि आवश्यक सतर्कता अपाउने काम भएको बताउनु भयो । नगरवासीहरुलाई सावुन पानीले हात धोएर मात्र खाने सामग्री प्रयोग गर्न, भेटघाट कम गर्ने, घरमा नै वस्नलाई सूचित गरेको, उच्च ज्वरोका विरामीलाई भरतपुरको अस्पतालमा जान सचेतना जारी गरिएको बताउनु भयो ।
इच्छाकामना गाउँपालिका
गाउपालिका प्रमुख गीता गुरुङका अनुसार यहाँको कुरिनटारबाट गोरखा मनकामना जाने केबुल कार बन्द गराइएको छ । मानिसको अत्यधिक भिड हुने ठाउँ भएर बन्द गराइएको छ । त्यस्तै गरी मुग्लिन, राजमार्गका अन्य होटलहरुमा पनि धेरै मानिस नराख्नको लागि निर्देशन दिएको जानकारी दिनु भयो । विरामीलाई उपचार गर्नको लागि यहाँको स्वास्थ्य केन्द्र र निजी अस्पतालहरुमा व्यवस्था मिलाएको छ । शंका लागेका व्यक्तिलाई भरतपुर पठाउने व्यवस्था मिलाएको जानकारी दिनु भयो ।
रोगको संक्रमणबाट बच्नको लागि दैनिक वैठक बसेर उपायहरु अपनाइ राखेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिनु भयो । जिल्लाका अस्पतालहरुले आफ्नो सेवा दिनु पर्ने, भिड हुन नदिने, आवश्यक चिकित्सकको सम्पर्क नम्वरहरु सार्वजनिक गर्ने, दैनिक भएका घटनाको विषयमा हरेक दिन सूचना जारी गर्ने गरी तयारी भइराखेको बताउनु भयो ।


