चितवन, ४ चैत । नोभेल कोरोना भाइरसका विरुद्ध जुध्ने तयारी स्वरुप चितवनको भरतपुरमा ७२ घण्टा भित्र ७० शैयाको भरतपुर कोरोना विशेष अस्पताल निर्माण गरिने भएको छ ।
भरतपुर महानगरपालिकाको अगुवाईमा आज विहान नोभल कोरोना भाइरस संक्रमण तथा रोकथाम नियन्त्रण पूर्वतयारीका लागि बसेको सर्वदलीय, सर्वपक्षीय अन्तरक्रियापछिको निर्णयले अस्पताल निर्माण गर्ने निश्चित गरेको हो । वैठकले भरतपुरको प्रदर्शनी केन्द्रमा अस्थायी अस्पताल निर्माण गर्ने तय गरेको छ । अस्पताल निर्माण गर्ने स्थल अनुगमनपछि चितवन प्रदर्शनी केन्द्र (एक्सपो सेन्टर)उपयुक्त ठहर गरी १० वेड आईसीयू,१० बेड एचडीयूसहितको कोरोनो विशेष अस्पताल निर्माण गर्ने निर्णय गरेको हो । बुधबार देखिनै उक्त स्थानमा विरामीको जाँच कार्य ओपीडी सेवा शुरु गरिने तयारी गरिएको छ ।
अन्तरक्रियाले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको संयोजकत्वमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण पूर्वतयारी कार्यदल निर्माण गरेको छ । कार्यदलमा प्रमुख जिल्ला अधिकारी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, दुई वटा मेडिकल कलेजका निर्देशक तहका प्रतिनिधि, जिल्ला समन्वय समिति चितवनका प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ ।
त्यसैगरी, नेपाल चिकित्सक संघ, उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, नीजि अस्पताल संचालक र नेपाल पत्रकार महासंघ समेतको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ ।


