गाँजालाई बैधानिक दिन सातै प्रदेशमा विद्ययक दर्ता गर्ने तयारी

काठमाडौं २५ फागुन । गाँजा खेतीलाई वैधानिकता दिने सम्बन्धी विधेयक सबै प्रदेश सभामा दर्ता गर्ने तयारी भएको छ । संघीय संसदमा पूर्वकानुनमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले नेतृत्व गरेका छन् । उनले यही फागुन १९ गते प्रतिनिधि सभामा विधेयक दर्ता गरे ।
बागमती प्रदेशमा गाँजा खेती सम्बन्धी विधेयक दर्ता भइसकेको छ । बागमतीमा पूर्वमन्त्री केशव स्थापितले २० फागुनमा विधेयक दर्ता गरेका हुन् । सांसद तामाङका अुनसार बाँकी छ वटा प्रदेशमा पनि यससम्बन्धी विधेयक दर्ता गर्ने तयारी भइरहेको छ । ‘प्रदेशका माननीयहरू दर्ता गर्छु भनेर हानथाप गरिरहनुभएको छ । केही दिन भित्रै माननीयहरूको नाम टुङ्गो लाग्छ र सबै प्रदेशमा दर्ता हुन्छ’ सांसद तामाङले भने ।

संघलाई दवाव दिन प्रदेशमा विधेयक
संघीय संसदले गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी कानुन बनाउन ढिला नगरोस भन्ने दबाब दिन सबै प्रदेशमा यस सम्बन्धी विधेयक दर्ता गर्ने तयारी गरिएको नेताहरुको भनाइ छ । त्यसो त सम्बन्धित प्रदेशले मात्रै पनि गाँजा खेती वैधानिकता दिन नसक्ने होइन । अमेरिकाको पुरै देशमा गाँजा खेती वैध छैन । तर, बिभिन्न ३५ वटा राज्यले कानून बनाएर गाँजा खेती खुला गरेका छन् । नेपालमा भने सबै प्रदेशमा गाँजा खेतीलाई वैधता दिने गरी कानून बनाउन लागिएको सांसद तामाङले बताए ।

प्रदेश सांसद स्थापित गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी कानूनका पक्षमा हस्ताक्षर अभियान चलाउने, बहस समूह गठन गरेर यसको सकारात्मक पक्षको फैलावट गर्ने लगायतका कार्य समेत सुरु भइसकेको बताए ।

शेयर गरौ

ताजा अपडेट