आज दिनभरी मौसम खराब हुने

काठमाडौं, २४ फागुन । पश्चिमी र स्थानीय वायुको मिश्रणका कारण अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा बर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् ।

अहिले पश्चिमी भू–भागका केही ठाउँ तथा मध्य र पूर्वी भू–भागमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

साथै उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै शनिबार राति पनि पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पूर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।

यस्तै आइतबार र सोमबार देशको पूर्वी तथा पहाडी भू–भागमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आउँदो २४ घण्टामा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शेयर गरौ

ताजा अपडेट