सौराहाका होटलले कर्मचारीलाई विदा दिन थाले

चितवन, २२ फागुन । पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कामदारलाई विदा दिन थालेका छन् ।
कोरोनाभाइरसको त्रासका कारण पर्यटक आउन छाडेपछि उनीहरुले केही समयको लागि कामदारलाई विदा दिन थालेका हुन् । माघ महिना लागेपछि विस्तारै पर्यटक कम हुदै गएको यहाँ केही दिन अगाडिबाट सार्वजनिक जमघट नगर्न प्रशासनले निर्देशन दिए लगतै होटलहरुले कामदारलाई विदा दिन थालेका हुन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले भन्नु भयो ‘दुइ महिनादेखि पर्यटक आएका थिएनन् अहिले झन सुन्य हुन थालेपछि कर्मचारी विदा दिन थालेका हौ ।’
यहाँका सबै होटलले कुरुवा कर्मचारी राखेर अन्यलाई विदा दिएका छन् । उहाँका अनुसार एकसय भन्दा धेरै होटल रहेको सौराहामा सबैले अत्यावश्यक कर्मचारी बाहेक अन्यलाई विदा दिएको छ । अबको केहीदिनको लागि कार्यक्रम भएपनि त्यसपछिका दिनहरुमा कुनै कार्यक्रम नभएको र बुक समेत हुन छाडेकाले कामदारलाई बिदा दिनु परेको अध्यक्ष भट्टराइले जानकारी दिनु भयो ।
होटल सञ्चालकका अनुसार नेपाली संघसंस्थाका कार्यक्रम केही मात्रामा भएको छ । युरोपियन देशका पर्यटकहरुको कारण अहिले २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि एक हप्तापछि यो संख्या निकै न्यून हुने होटल सञ्चालक दामोदर रेग्मीले जानकारी दिनु भयो । अहिले केही मात्रामा युरोपियन, भारतीय र नेपाली पर्यटक मात्र छन् । यसअघि भएका सबै बुकिङ रद्द भएका छन् ।

शेयर गरौ

ताजा अपडेट