चितवन २२ फागुन । केही दिन सञ्चालन गरेर झण्डै एक महिना अगाडि हटेको हेल्थ डेस्क आजदेखि पुन सञ्चालनमा आएको छ । कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजबाट पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको हो ।
गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरले बुधबार महानगरपालिकालाई पत्राचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो । भरतपुर विमान स्थल कार्यालयले सूचना जारी गरी हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउनेहरुलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ ।
सूचनामा कोरोनाको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुहरुलाई हवाई यात्रा तथा विमानस्थल क्षेत्र प्रवेश नगर्न अनुरोधसमेत गरेको छ । भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् । ती जहाजबाट दैनिक आठ सय हाराहारी यात्रु आवतजावत गर्दछन् ।


