प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण

काठमाडौं, १८ फागुन । लामो समयदेखि मिर्गौलाको डायलासिस गराउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण हुने स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि लामो समयदेखि अध्ययन र परामर्श जारी राखिएको थियो ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले सचिवालयमा जानकारी गराए अनुसार सोमबार नै अस्पताल भर्ना हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको यो दोस्रो मृगौला प्रत्यारोपण हो ।
त्यसबाहेक सचिवालय बैठकमा अन्य विषयमा कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यमा नेता वामदेव गौतम या युवराज खतिवडा कसलाई पठाउने भन्ने विषयमा नेकपामा विवाद भए पनि बैठकमा यसबारे कुनै छलफल नभएको नेताहरुले बताएका छन् । राष्ट्रिय सभा सदस्यबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले ‘निर्णय भइसकेको विषयमा थप छलफल गर्नु नपर्ने’ प्रतिकृया दिए । यो सँगै राष्ट्रिय सभामा गौतम नै जाने निश्चित भएको छ ।

शेयर गरौ

ताजा अपडेट