निर्वाचन हारेका व्यक्ति मन्त्री हुने व्यवस्था संविधानमा छैन : सुरेन्द्र पाण्डे

 

चितवन, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले राष्ट्रिय सभामा सदस्य भएपनि वामदेव गौतम मन्त्री बन्न नसक्ने बताउनु भएको छ ।
भरतपुर विमान स्थलमा शनिबार पत्रकारहरुसंग कुरा गर्दै उहाले निर्वाचन हारेका व्यक्ति राष्ट्रिय सभामा जान सकेपनि मन्त्री बन्न संविधानले रोकेको बताउनु भयो । उहाले भन्नु भयो ‘संविधानले मन्त्री भएको छ महिना भित्र निर्वाचित हुनु पर्ने उल्लेख गरेको छ, तर त्यो अवस्था अहिले नरहने भएकाले उहाँ मन्त्री बन्न सक्नु हुन्न ।’ संसदको सदस्य मात्रै मन्त्री प्रधानमन्त्री वन्ने व्यवस्था हामीले संविधानमा बनाएका छौ अब कसरी मन्त्री बन्न सक्नु हुन्छ उहाँको प्रश्न थियो ।
वामदेव मात्र होइन नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठपनि मन्त्री बन्न नसक्ने बताउनु भयो । राष्ट्रिय सभामा पुग्न सकिन्छ तर मन्त्री बन्नलाई अर्को निर्वाचनबाट निर्वाचित भएर आएपछि मात्र मन्त्री प्रधानमन्त्री बन्ने बाटो संविधानले दिएको उहाले बताउनु भयो ।
नेकपा भित्र देखिएको समस्या समाधानको बाटो तर्फ जान लागेको बताउनु भयो । शीर्ष नेताहरुको छलफल भइराखेको छ छिट्टै समाधानको उपाय आउने छ उहाले भन्नु भयो । समाधान गर्न नसकिने गरी हामीमा विवाद भएको छैन केही विषयमा असन्तुष्टी भएको हो तर समाधान गर्न नसकिने भन्ने विषय होइन पूर्व अर्थमन्त्री समेत रहनु भएका नेता पाण्डेले भन्नु भयो । पार्टी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालसंग छलफल भएको छ विवादलाई समाधान गर्ने तर्फ उन्मुख भएको मैले विश्वास लिएको छु उहाले भन्नु भयो ।
कम्युनिष्ट पार्टीमा यस्ता विषय भइरहने भएकाले ठुलो रुपमा नलिन अनुरोध गर्नु भयो । छलफल बिचार विमर्श नभए पार्टी जिवन्त नरहने भएकाले यस्ता घटनाक्रमले पार्टी अझ बलियो मजवुद भएर जाने बताउनु भयो । नेता पाण्डे जिल्लाको विभिन्न कार्यक्रममा सहभागी हुन आउनु भएको हो ।

शेयर गरौ

ताजा अपडेट