चितवन, १७ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीका पुराना नेतालाई आउदो महाधिवेशनबाट विदा गर्ने बताउनु भएको छ ।
भरतपुर विमान स्थलमा चितवनका पत्रकारसंग कुरा गर्दै अहिलेका पुराना नेताबाट पार्टी चल्न नसक्ने भएकाले महाधिवेशनबाट विदा गर्नै पर्ने बताउनु भयो । उमेर, दक्षता र क्षमताले कमजोर हुनु भएका नेताहरुले पद ओगटेर बस्न हुदैन उहाले भन्नु भयो ‘सकेसम्म फकाउने नमाने निर्वाचनबाट विदा गर्ने हो ।’
वर्तमान नेताबाट देश चल्न नसक्ने भएकाले नयाँ पुस्ताको आगमन जरुरी रहेकोमा जोड दिनु भयो । ‘नेताहरु वान जीका हुनुहुन्छ जनताहरु फाइभ जीका हुनुहुन्छ कसरी सोच मिल्छ ?’ उहाले प्रश्न गर्नु भयो । पुरानो सोच भएका नेताबाट देश विकास हुन सक्दैन भन्ने सन्देश प्रष्ट आइसकेको उहाँको भनाइ छ ।
पार्टी नेतृत्वसंग असन्तुष्टी व्यक्त गर्दै नेता भण्डारीले मन्त्रीको देशको विषयमा चिन्ता गर्नु पर्नेमा नेविसंघमा कसलाई लैजाने भनेर अल्झेको बताउनु भयो । काँग्रेसका शीर्ष नेताहरुले पार्टी र देश हाक्न नसक्ने भएकाले नयाँ पुस्ता नआउने हो भने देश सधै यस्तैगरी चल्ने बताउनु भयो ।
कम्युनिष्ट पार्टीमा देखिएको अन्तरविरोधको विषयलाई लिएर नेता भण्डारीले राष्ट्रिय मुद्दा ओझेलमा पार्न घर झगडा गरेको आरोप लगाउनु भयो । सीमा विवादको मुद्दा उत्कर्शमा पुगेको वेला पार्टी भित्र झगडा गरेर राष्ट्रिय विषय ओझेलमा पारेको बताउनु भयो ।
दिल्लीमा केजरीवालले निःशुल्क स्वास्थ्य उपचार गराइरहदा नेपालमा उपचार गर्न नसकेर मर्नु पर्ने अवस्था भएको बताउनु भयो । काँग्रेस र कम्युनिष्ट पार्टीका अहिलेका नेताले विकास गर्न सक्ने क्षमता नभएको आरोप लगाउनु भयो ।


