भरतपुर महानगरको टोलीद्धारा पश्चिम नेपालमा अवलोकन भ्रमण

चितवन माघ २४ ।
भरतपुर महानगरपालिकाको एक टोलीले पश्चिम नेपालका केही नगरपालिका अवलोकन गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीको नेतृत्वमा गएको टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका , कैलालीको टिकापुर र सूर्खेतको बीरेन्द्रनगर नगरपालिकामा भए गरिएका विकास निर्माणको अवलोकन गरेको हो ।
भ्रमण टोली नेपालगञ्ज उपमहानगरपालिकाका पुग्दा त्यहाँका प्रमुख डा.धवलशमशेर जंगबहादुर राणाले स्वागत गरेका थिए । उपमहानगरपालिकाले गरेका कामको जानकारी त्यहाँका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद प्याकुरेलले गराउनु भएको थियो । टोलीले नेपालगञ्जको निर्माणाधीन फोहर प्रशोधन केन्द्र, नयाँ बसपार्क निर्माणको बारेमा जानकारी लिएको थियो ।
त्यसै गरि भ्रमण टोलीले कैलालीको टिकापुर नगरपालिकामा बनाइएको टिकापुर पार्क, निर्माण शुरु गरिएको रिंग रोड, मशादघाट निर्माणस्थलको अवलोकन गरेको भ्रमणमा सहभागीले जानकारी दिए । उक्त नगरपालिका पुगेको टोलीलाई त्यहाँका उपप्रमुख केशरी विष्ट रावलले स्वागत गरेकी थिइन् । उक्त नगरपालिकाले यसै बर्ष देखि नगरपालिका क्षेत्रका गर्भवती महिलालाई होमटु हस्पिटल अवधारणा अनुसार निशुल्क अस्पताल लैजाने र ल्याउने व्यवस्था समेत गरेको जानकारी उपप्रमुख रावलले जानकारी दिनुभएको थियो ।
त्यसै गरि सूर्खेतको बीरेन्द्रनगर नगरपालिका समेतको अवलोकन उक्त टोलीले गरेको थियो । नगर उप्रमुख मोहनमाया भण्डारी ढकालले भ्रमण टोलीलाई स्वागत गर्दै आफ्नो नगरपालिका क्षेत्रमा रहेका महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा रहेको बुलबुले ताल, काँक्रे विहार र देउती बज्यै मन्दिर क्षेत्रको अवलोकन गराउनुभएको थियो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले अवलोकन गरिएका सबै क्षेत्रमा गरिएको अन्तरक्रियामा महानगरले गरेका र गर्न खोजेका विकास निर्माणका कामको बारेमा जानकारी दिनुभएको थियो । उहाँले भ्रमण फलदायी हुने बताउँदै भ्रमणमा देखिएका सकरात्मक विषयबाट पाठ सिक्दै आफुहरु अगाडि बढ्ने प्रेरणा बढेको बताउनुभएको थियो । उहाँले भ्रमण गरिएका नगरपालिकाहरुलाई भरतपुर महानगरको विकास निर्माण र अवधारणा बुझ्न स्थलगत अवलोकन गर्न समेत अनुरोध गरेको बताउनु भएको थियो ।
बुधबार बिहान महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका परिसरबाट भ्रमण टोलीलाई विदाई गर्नुभएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीको नेतृत्वमा रहेको उक्त टोलीमा महानगरपालिका वडा नं २, ५, ६ र १५ का वडाध्यक्षहरु, महाशाखा प्रमुखहरु , कर्मचारी र पत्रकार समेत गरि २९ जना सहभागी छन् । टोली शनिबार फर्कने कार्यक्रम रहेको छ ।

शेयर गरौ

ताजा अपडेट